सडकमै आएको बाढीले कार बगाउँदा दाङमा ४ महिलाको मृत्यु

दाङ – दाङमा सडकमा गुडिरहेको कारलाई खोलाले बगाउँदा चार जनाको मृत्यु भएको छ। चालक भने घाइते भएका छन्। दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार घोराही–लमही सडकखण्डअन्तर्गत सिस्नेखोलाले बुधबार राति १० बजेतिर प्र–३–०१–०२४ च ४४४० नम्बरको कार बगाएको हो। पुल नबनेका कारण खोला सडक माथिबाटै बग्ने गरेको छ।
नेपालगन्जबाट घोराहीतर्फ आउँदै गरेको कार बाढीले बगाउँदा त्यसमा सवार घोराही उपमहानगरपालिका वडा नं १३ की ४० वर्षीया रीता माया पुन, सोही ठाउँकी ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही–१४ का ३३ वर्षीया राधा कुँवर र सोही ठाउँकी ४३ वर्षीया विमला केसीको मृत्यु भएको उनले बताए।

कारका चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र घोराहीमा उपचार जारी रहेको डीएसपी रिजालले जानकारी दिए। उनको खुट्टा भाँचिएको छ। खोलाले बगाएर मृत्यु भएकाको शव झन्डै ३ किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फेला परेको प्रहरीले जनाएको छ।

‘रातिको बेला खोला हेरेर सडकमा कार हाल्नुपर्छ नि,’ डीएसपी रिजालले बिहीबार बिहान नेपालखबरसँग भने, ‘विचारै नगरी चालकले कार हालेछन्, अनि बगााएछ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्