सामलिङ्ग पावरको आईपीओ शुक्रवारदेखि विक्रीमा

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले शुक्रवार अर्थात् भदौ १८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले इलाम जिल्लाका स्थानीयका लागि गत साउन २२ गतेदेखि विक्री खुला गर्ने भनेको भएपनि पनि कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न लागू गरिएको निषेधाज्ञाका कारण स्थगित भएको आईपीओ निष्कासन शुक्रवारदेखि खुला गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात् ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात् २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा असोज १ गतेसम्म रहेको छ भने ढिलोमा असोज १७ गतेसम्म विक्री हुनेछ । आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्