महेन्द्रनगर, १८ भदौ
कञ्चनपु्रमा आईतबारदेखि विद्यालयहरु सुचारु गर्न सकिने भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर स्थानीय तहहरुले निर्णय गरेर विद्यालयमा पठनपाठन सुचारु ग्र्न सकिने भएको हो ।
कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णय अनुसार शुक्रबार जिल्ला प्रशासनमा भएको छलफलपछि विद्यालय खोल्न सकिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले बताए । स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा विद्यालय सञ्चालन गर्न सकिने उनले बताए ।
कञ्चनपुर जिल्ला प्रसाशनद्धारा ०७८।०५।१८ गते राती १२.०० बजे देखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि लागि जारि गरिएको आदेशमा स्मार्ट लकडाउनको परिधी भित्र रही स्कुलमा भौतिक कक्षा पठनपाठन सञ्चालन गर्न सकिने उल्लेख छ ।
‘नेपाल सरकारले २०७८ श्रावणमा जारी गरेको स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिको प्रावधान भित्र रही जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गर्ने गरी, सञ्चालन गर्ने ’ आदेशमा भनिएको छ ।
त्यस्तै कार्यविधि पालना भए नभएको बारे सम्बन्धित स्थानीय तहले कडाईका साथ अनुगमन गर्ने र पालना नभएको पाईएमा स्थानीय तह आफै वा स्थानीय प्रशासनको सहयोग लिई त्यस्ता शैक्षिक संस्था तत्काल बन्द गराउने गरी सञ्चालनको निर्णय गर्ने समेत प्रशासनले आदेश जारी गरेको छ । तर शैक्षिक संस्थाहरुले सके सम्म भौतिक उपस्थितिमा नभई भर्चुअल माध्यमबाट पठनपाठन गर्ने\गराउने व्यवस्था मिलाउने आग्रह पनि गरिएको छ ।


