गण्डकीमा बाढीपहिरोमा परि दुई दिनमै १८ जनाले ज्यान गुमाए

पोखरा । गतवर्ष एकै परिवारका ६ जनासहित ९ जनालाई पहिरोमा गुमाएको दुर्लुङ, पवर्तमा यसवर्ष उस्तै नियति दोहोरियो । बिहीबार राति आएको पहिरोले दुर्लुङ भोगेनीबासीले एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
शुक्रबार एकाबिहानै खसेको पहिरोमा माधव शर्माले परिवारकै ५ सदस्य गुमाउनुप¥यो । पहिरोमा परी शर्माका आमा ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती पौडेल, छोरीहरु १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय छोरा विनोद पौडेलले ज्यान गुमाए ।
जहाँ पहिरो खसेको थियो, त्यहाँ पहिरो खस्छ भनेर कल्पनै गर्न नसकेको कुश्मा ३, दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्या बताउँछन् । ‘केही दिनदेखि झरी परिरहेकै थियो । राति खाना खाएर सुतेको परिवार बिहान उठ्नै नपाई पहिरोले लग्यो,’ उनी भन्छन्, ‘घरभन्दा माथि घोरेटो बाटो छ । घर तल मोटर बाटो छ ।

भूकम्पले हल्लाएको जमिनमा घोरेटो बाटो मुनिबाट पहिरो खसेछ ।’ पहाडको पाखोमा बस्नुको पीडा आफूहरुले भोग्दै आएको उनले सुनाए । ‘पोहोर दुर्लुङमा पहिरोले ९ जनाको ज्यान निल्यो । यसपालि एउटा परिवारलाई तबाह पारिदियो,’ वडाध्यक्ष पाध्याले भने, ‘पाखोमा घर हुनेलाई झरीले पनि तसाइरहन्छ । कतिबेला कहाँ पहिलो खस्ने हो भन्ने चिन्ता भइरहन्छ ।’

बर्सेनि पहिरोले दुर्लुङको डाँडो छियाछिया पारेजस्तै दुर्लुङबासीको मन छियाछिया भएको छ । कुश्मा ३, दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्या भन्छन्, ‘जब झरी पर्छ, तब पाखोको दुर्लुङवासीलाई तर्साउँछ ।’
पोहोर पहिरो खसेपछि गृह मन्त्रालयले स्थलगत अध्ययन गरेको थियो जसले दुर्लुङका ४५ घर ठूलो पानी परे उच्च जोखिममा रहेको देखाएको थियो । यद्यपि प्राविधिक हिसाबले कुनै पनि रुपमा जोखिममा पर्ने जस्तो ‘नदेखिने’ देखाएको थियो । ‘गाउँ माथि पनि घना वन छ ।

भिरालो जमिन भएर जोखिम मानिनेभन्दा पनि कम देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘खोला, खोल्सी, कुलो केही पनि छैन ।’ तर यस वर्षको झरीबाट दुर्लुंङबासी बच्न सकेनन् ।

२ दिनमा १८ जनाले ज्यान गुमाए

पछिल्लो २ दिनमा मात्रै गण्डकीमा बाढीपहिरोमा परी १८ जनाले ज्यान गुमाएका छन्, जसमध्ये ११ जना पर्वतका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पर्वतमा एकै परिवारका ५ जनासहित ११ जनाले ज्यान गुमाएका हुन् । कुश्मा ११ सिल्मीमा गएको पहिरोले २ जनाको ज्यान लियो । मृत्यु हुनेमा मोदी गाउँपालिका ७ कि ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेश पौडेल छन् । उनीहरु दिदीभेनाको घरमा पाहुना आएकोबेला पहिरोमा परेका हुन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्