महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई निड्स नेपालले कोरोना संक्रमितका लागि आईशोलेसन तथा क्वारेन्टाईन सामाग्री सहयोग गरेको छ । सोमबार नगर प्रमुख कर्ण बहादुर हमाललाई निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्टले आईशोलेसन तथा क्वारेन्टाईन किट हस्तान्तरण गरिन् ।
कृष्णपुर नगरपालिकाको समन्वयमा केयर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ द्रोस्रो लहर आपतकालिन प्रतिकार्य परियोजनाको सहयोगमा कोभिड सक्रमंण तथा प्रभावित व्याक्तिहरुलाई आईशोलेशन किट नगरपालिका स्वास्थ्य शाखामार्फत सहयोग गरिएको हो ।
परियोजना अन्र्तगत कोरोना संक्रमति रहेको ३०\३० जना महिला र पुरुषका लागि विभिन्न प्रकारका सामाग्री सहितको झोला सहयोग गरिएको छ ।
निड्स नेपालका कार्यक्रम संयोजक केशब मलासीले कोरोना संक्रमितलाई लक्षीत गरि आईशोलेसन तथा क्वारेन्टाईन व्यवस्थापनलाई सहज बनाउन किट सहयोग गरिएको बताए । उनका अनुसार आईशोलेसन किट अन्र्तगत महिलाका लागि २२ र पुरुषका लागि २० प्रकारका सामाग्री सहयोग गरिएको छ ।
सहयोग सामाग्रीमा नुहाउने साबुन तौलीया, साबुन दानी, लुगा धुने साबुन, सेनिटरी प्याड, भित्री वस्त्र, दाँत माझ्ने ब्रस, दन्त मन्जन, काइँयो, नेलकटर, वाल्टिन १० लीटर, मग, प्लास्टिक बोटल, मच्छरदानी, पेपर रोल, डस्टबिन, सर्जिकल मास्क(५० थान), थर्मोमिटर, पारासिटामोल, जीवनजल, सेनिटाईजर (१०० मिली) र झोला रहेको उनले बताए ।
निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्टले आर्थिक अवस्था कमजोर भएको परिवारका लागि स्वास्थ्य सुरक्षालाई मध्यनजर गदैँ आईशोलेसन किट सहयोग गरिएको बताईन् । ‘कोरोना संक्रमण जोखिम अझै हटेको छैन् ।’ उनले भनिन् ‘आर्थिक अवस्था कमजोर भएको परिवारलाई छुट्टै आईशोलेसन बस्न र सामाग्री जुटाउन समस्या हुने भएकाले संस्थामार्फत आवश्यक सामाग्री सहयोग गरिएको हो ।’
त्यस्तै कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले निड्सको सहयोगले आईशोलेसन तथा क्वारेन्टाईन व्यवस्थापनमा मद्दत पुग्ने बताए । उनले कोरोना संक्रमण अझै रहेको बताउँदै प्राप्त स्वास्थ्य सामाग्री नगरवासीलाई वितरणमा सहज हुने उल्लेख गरे ।
‘कोरोना संक्रमणको अझै तेस्रो लहर आउन सक्ने भनेर विज्ञहरुले भनिरहेका छन् ।’ नगर प्रमुख हमालले भने ‘नगरपालिकालाई आईशोलेसन सामाग्री आवश्यक थियो, यसले ठुलो राहत मिलेको छ ।’ साथै नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि निरन्तर काम गरिरहेको उनको भनाई छ ।