पहिरोको जोखिम मोलेर कोरोनाको खोप ढुवानी


बाजुरा ।
वर्षाले अवरोध पारेको साँफे मार्तडी सडक खण्डमा जोखिम मोलेर कोरोनो विरुद्धको खोप ढुवानी भइरहेको छ। पहिरोको जोखिमका बिच खोप ढुवानी गरेर जिल्ला खोप केन्द्रमा खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ।

अविरल वर्षाका कारण जिल्लाको मुख्य लाइफलाइन साफे मार्तडी सडक, मार्तडी कोल्टी लगाएत सबै स्थानीय सडक अवरोध भएकोले भौगालिक रुपले विकट बाजुरामा कोरोनाविरुद्धको खोप ढुवानीमा समस्या परेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए। सडक खण्डको बल्दे द्वारी क्षेत्रमा पहिरोको जोखिम मोलेर खोप ढुवानी भइरहेको छ।

माथिबाट पहिरो खसिरहेको हुन्छ, तलबाट पनि पहिरो बगेको हुन्छ जोखिम मोलेर खोप ढुवानी गरिरहेको स्वास्थ्य कार्यलय बाजुराका सुचना अधिकारी महेश चन्दले बताए। जिल्लामा कोराना विरुद्धको खोप पहिलो मात्रा २६ हजार ९ सय २६ ले लगाइसकेको छ। भने पहिलो र दोस्रो मात्रा २२ हजार ९ सय ३० जनाले लगाएका छन्। बाजुरामा १८ वर्ष माथिका ९९ हजार २० जनालाई खोप लगाउने लक्ष्य रहेको चन्दले बताए।

सडक भाँसिने, सडक माथिबाट पहिरो जाने र सडक बेस बगाउने गर्दा वर्षा यामको मौसममा बाजुराको साँफे मार्तडी सडकमा सवारी साधन तथा पैदल यात्रीलाई सास्ती हुने गरेको छ। बाजुराको मुख्य राजमार्गको रुपमा रहेको साफेँ मार्तडी सडक अवरोध हुँदा बाजुराको दैनिकी कठिन बन्दै गएको छ। साफेँ मार्तडी सडक अवरोध हुँदा बाजुरामा दैनिक उपभोग्य साम्रगीका साथै औषधीहरु पनि मान्छेले जोखिम मोलेर सदरमुकाम पु¥याउनु परेको हो।

साफेँ मार्तडी सडक खण्ड अन्तरगत बल्देदेखि अम्कोटसम्म करिव ३ किलोमिटर सडक पहिरोले भत्काएपछि मान्छे समेत ओहोर दोहोर गर्न समेत समस्या भएको र सडक दिनहुँ जसो अवरुद्ध भइरहँदा कोरोना विरुद्धको खोप बाजुरा ल्याउन मुस्किल पर्ने गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

साँफेबगर–मार्तडी–कोल्टी सडक अन्तरगत पर्ने बल्दे–अम्कोट सडक जेठ ३१ गतेबाट पूर्णरुपमा अवरुद्ध भएको र अझै खुल्न महिना दिन बढी लाग्ने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। निरन्तर वर्षा भइरहेकोले सो सडकमा डोजर र स्क्राभेटर चलाउन नमिल्ने भएकाले सो सडक सुचारु गर्न अझै मुस्किल भएको सडक डिभिजन कार्यालय अछामका इन्जिनिय दमन बिष्टले जनाएको छ।

कोरोना विरुद्धको खोपको पर्खाइमा बसेका बाजुराबासीलाई खोप ढुवानीमा सडकका कारण निकै सास्ती भोग्नु परेको स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताए। बाजुरामा मन्त्रालयबाट उसै पनि कोरोना विरुद्धको भ्याक्सिन एकदम कम दिने गरेको दिएको खोप सडकको समस्याका कारण समयमा खोप केन्द्रमा नपुग्दा सर्वसाधारणले सास्ति बेर्होनु परेको स्वास्थ्य कार्यालयका प्रमुख पन्तले बताए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्