नेपाल लिग २ लाई तयार,सोमबार अमेरिकासँग खेल्दै

काठमाडौँ — पपुवा न्युगिनी (पीएनजी) लाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५१ रनले पराजित गर्दै नेपालले आईसीसी विश्वकप लिग २ को तयारी पूरा गरेको छ । रोहित पौडेलको सानदार ब्याटिङ र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले दुई खेलको शृंखला जितेको हो ।

अमेरिका र घरेलु टोली ओमानसँग हुने लिग २ का लागि नेपालले पीएनजीसँगको खेललाई तयारीको रूपमा लिएको थियो । विश्वकप छनोटको आधार रहेको लिग २ मा नेपालले सोमबार अमेरिकासँग खेल्दै छ । नेपालले मंगलबार पहिलो खेलमा पीएनजीलाई २ विकेटले पराजित गरेको थियो, त्यसमा नेपाललाई १ सय ३५ रन बनाउन हम्मे–हम्मे परेको थियो ।
दोस्रो खेलमा नेपालले ब्याटिङमा निकै सुधार ग¥यो । रोहितले ८६ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभर खेल्दै २ सय ३३ रनमा अलआउट भएको हो । सन्दीपले नेपाली खेलाडीकै उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि जवाफमा आएको पीएनजी १९.१ ओभरमै ८२ रनमा अलआउट भयो । ओपनर टोनी उराले पीएनजीबाट सर्वाधिक १९ रन बनाए ।
५.१ ओभर बलिङ गरेका सन्दीपले ११ रन मात्र खर्चिएर ६ विकेट लिए ।सन्दीपको प्रदर्शन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उत्कृष्ट बलिङ हो । सन्दीपले नै सन् २०२० मा अमेरिकाविरुद्ध त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १६ रन खर्चेर ६ विकेट लिएका थिए । शुक्रबार अन्य नेपाली बलरमा सोमपाल कामी, विक्रम सोब र सुसन भारीले १–१ विकेट लिए । आरिफ शेख, शरद भेषावकर र पवन सर्राफको स्थानमा नेपालले करण केसी, विनोद भण्डारी र सुसनलाई खेलाएको थियो ।

ओमानको मस्कटस्थित एमेरात क्रिकेट मैदानमा यसअघि नेपालको सुरुआत राम्रो थिएन । नेपालले पहिलो पटक खेलेको दिवा–रात्रि एकदिवसीय अन्तर्राष्ट्रियमा ओपनिङ ब्याट्सम्यानद्वय आसिफ शेख र कुशल भुर्तेल समान ३ रनमै आउट भए । रोहितले कप्तान ज्ञानेन्द्र मल्लसँग तेस्रो विकेटमा ८९ रनको साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा ठूलो साझेदारी हो ।

ज्ञानेन्द्र ४५ रनमा एलबीडब्लु आउट भए । उनले ७० बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । रोहितले १ सय २३ बल खेल्दै २ चौका र ३ छक्का बनाएका थिए । रोहितको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक हो । सन् २०१९ मा यूएईविरुद्ध उनले ५५ रन बनाएका थिए । पीएनजीसँगको पहिलो खेलमा म्याच विजयी ४१ रनको इनिङ्स खेलेका रोहितले शुक्रबार बनाएको रन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको दोस्रो उच्च स्कोर हो ।

विनोद १७, कुशल मल्ल १ र सोमपाल ११ रनमै आउट भए । करणले २६ बलमा ४२ रन बनाई रोहितसँग सातौं विकेटमा ६६ रनको साझेदारी गरेका थिए । करणले २ चौका र ४ छक्का प्रहार गरे । करण र रोहित ४९ औं ओभरमा आउट भए । नेपालले अन्तिम ४ विकेट १ रनका लागि गुमाएको थियो । पछिल्ला दुई ब्याट्सम्यान विक्रम सोब १ र सन्दीप शून्यमा अन्तिम ओभरको पहिलो दुई बलमा आउट भए । पीएनजीका चाड सुपरले ३, काबुआ मोरेआ र नोर्मान भनुआले २–२ विकेट लिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्