एमसिसी छिटो पास गरौँ: डा. बाबुराम भट्टराई

गोरखा – दलीय सझदारी बनाएर यथासीघ्र एमसिसी पास गर्नुपर्ने पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बताएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले सोमबार गृहजिल्ला गोरखाका पत्रकारहरुसँगको भेटमा एमसिसी पास गर्न अलमल गर्नुपर्ने बिषय नभएको तर्क गरे।
राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ’, उनले भने, ‘जनता समाजवादी पार्टी एक्लैको निर्णयले एमसीसी पास गर्न सम्भव छैन।’

एमसिसीले देशको सबै आवश्यकता पूर्ति नहुने भए पनि विकास र संवृद्धिमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो। ‘एमसीसीले सबै पुग्ने होईन, तर खानै नपाउने गरिबलाई एक छाक खान दिँदा जस्तो सन्तोष हुन्छ, एमसिसीले त्यस्तै राहत हुन्छ भन्ने मान्यता हो’, एमसीसीबारे प्रष्ट्याउँदै उनले भने, ‘मुलुकको पूरै समस्या एमसीसीले हल हुने भन्ने होइन।’

एमसीसीको विषय अहिले भ्रमको रुपमा गिजोलिएर जनस्तरसम्म फिँजिएको र अनावश्यक तर्क र बितर्कले प्रश्रय पाएको भट्टराईले बताए। ‘राष्ट्रिय सहमतिबाट नै यो छिटो टुङ्गो लागोस्’, उनले भने, ‘राष्ट्रिय हितमा हुने गरी यसलाई अघि बढाउनुपर्छ।’

एमसीसी अनुदान सहयोगभन्दा बढी केही नभएको उनले दाबी गरे। यस्तो सम्झौता पचासौँ देशसँग भएर कार्यान्वयन भइसकेको उल्लेख गर्दै उनले नेपालका लागि यो सबैभन्दा ठुलो सम्झौता भएकाले मात्र संसदबाट पास गर्न खोजिएको उनले बताए। ‘हाम्रो संविधान अनुसार सहयोग सम्झौता संसदबाट पास गर्न आवश्यक थिएन’, उनले भने, ‘बिगतका भन्दा ठूलो राशिको सहयोग भएकाले संसदमा पेश भएको हो। यस्ता सम्झौतामा बिवाद बढी भएको हुनाले राष्ट्रिय सहमति जुटाउ सहज हुन्छ भन्ने कोणबाट हाम्रो (नेपालको) तर्फबाट माग गरेर राखिएको रहेछ।’ हाम्रो देशमा कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हाले पनि बाङ्गाको बाङ्गै भने झैँ बिप्पा, एमसिसी, बिआरआई सबैमा विरोध हुने गरेको उनले चर्चा गरे।

एमसीसी त्रिपक्षीय चासोको विषय बनेको बताउँदै उनले बिदेशी ठूला राष्ट्रलाई अनावश्यक ढंगले बिच्क्याउँदा उसले पनि प्रतिशोध राख्न सक्ने आशंका ब्यक्त गरे। सानातिना कुरामा बखेडा झिकेर ठूलो दातृ राष्ट्रलाई बिच्क्याउँदा अन्य बैदेशिक सहयोग पनि घट्न सक्ने तर्फ उनले इङ्गित गरे।
‘सरकारमा छँदा एउटा कुरा, सरकार बाहिर रहेपछि अर्को कुरा गर्ने हाम्रा नेताहरुको गलत प्रवृत्ति हो’, नेकपा एमाले प्रति लक्षित गर्दै उनले भने। केही दलहरुको पुराना कम्यूनिष्टहरुको एउटा धङ्धङीका कारण आन्तरिक पार्टीको संघर्ष पनि प्रतिबिम्बित हुन पुगेको उनले बताए।

पछिल्लो समय राजनीतिक द्वन्द्वको बाछिटा पनि एमसीसीमा परेको उनले बताए। भारतसँग सहयोग लिँदा चीन र अमेरिका पक्षले भित्रभित्र उक्साइदिने, चिनसँग सहयोग लिँदा भारत र अमेरिकी पक्षले उक्साइदिने, र अमेरिकासँग लिन खोज्दा चिन, भारत पक्षले उक्साइदिने गरेको उनले बताए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्