मिलेमतोमा अरुको जग्गा वडा अध्यक्षले आफ्नै ससुराको नाममा पास गरि दिएपछि…


प्रहरीको फितलो अनुसन्धान भएको स्थानीयको आरोप
लुम्बिनी : लुम्बिनी साँस्कृतिक नगरपालिका- १० का वडा अध्यक्ष रमजान अलि मियाँले आफ्नै ससुरालाई अर्कैको जग्गा पास गरिदिन मुख्य भूमिका खेलेको पाइएको छ। ससुरा सभान अल्लाह भारतीय नागरिक हुन्। उनको स्थायी ठेगाना भारतको महाराजगंज कवलपुर हवेली (वनकटहवा) हो। वडा अध्यक्ष मियाँले नक्कली नागरिकता बनाउनेदेखि ससुराको नाममा जग्गा पास गराई किनबेचमा प्रमुख योजनाकारका रुपमा संलग्न रहेको पाइएको हो।

उनकै खास मिलेमतोमा सोही वडास्थित मधुवनीका स्थायी बासिन्दा ७० वर्षीय गरिब कोहारको नाममा रहेको १० कठ्ठा १७ धुर जग्गा वडा अध्यक्षले ससुराको नाममा पास गराउन भूमिका खेलेका हुन्। आफ्नै ससुरा भारतीय नागरिक सभान अल्लाहलाई नक्कली गरिब कोहार बनाएर जग्गा किनबेच गरिएको छ।

वडाबाट नागरिकताको प्रतिलिपी बनाउने सिफारिस, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी निकाल्ने सिफारिस, चारकिल्ला सिफारिसदेखि जग्गा ससुराको नाममा लिएर दोस्रो र तेस्रो व्यक्तिलाई विक्री गर्नेसम्मका किर्ते काममा अध्यक्षको प्रत्यक्ष संलग्नता रहेको छ। आफ्नो नाममा भएको जग्गा थाहैँ नपाई अर्कैले लगेपछि सक्कली जग्गाधनी प्रमाणपत्र र नागरिकता बोकेर पीडित गरिब कोहार न्यायको खोजीमा भौतारिरहेका छन्।

खबर थाहा पाएदेखि उनलाई भोक र निद्रा परेको छैन। पीडितले शंकाका घेरामा रहेका वडा अध्यक्ष मियाँसहित सात जनालाई किटानी जाहेरी दिई जिल्ला प्रशासन कार्यालय भैरहवामा उजुरी दिएका छन्। वडा अध्यक्ष रमजान अलि मियाँ, तानसेन नगरपालिका-८ साविक मदनपाखेरा ४ निवासी ३१ वर्षीय सन्दिप कार्की, सियारी गाउँपालिका- १ सोनारत निवासी ६० वर्षीय भागवत प्रसाद उपाध्याय, विहादी गाउँपालिका -५ पर्वत निवासी २७ वर्षीय सुरज आचार्य, सियारी गाउँपालिका- १ रुपन्देही निवासी २५ वर्षीय राजन तिवारी, सिद्धार्थनगर नगरपालिका- १२ निवासी मालपोत कार्यालयमा कार्यरत ४५ वर्षीय डण्डपानी न्यौपाने र यशोधरा गाउँपालिका- ८ कपिलवस्तु निवासी ४० वर्षीय गोविन्द प्रसाद मल्लाहका नाममा किटानी जाहेरी छ। प्रहरीले किटानी जाहेरी परेकामध्ये पछिल्लो पटक जग्गा किनेर बैंकबाट ऋण समेत लिइसकेका यशोधरा गाउँपालिका ८ कपिलवस्तु निवासी गोबिन्दप्रसाद मल्लाह र लेखापढी व्यवसायी सियारी गाउँपालिका १ सोनारत निवासी ६० वर्षीय भागवत प्रसाद उपाध्यायलाई मात्र नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्