महेन्द्रनगर । फोहरमैलाको प्रभावकारी व्यवस्थापनका लागि भीमदत्तमा स्वयंसेवकलाई प्रशिक्षण तालिम दिईएको छ । भीमदत्त नगरपालिका र युएनडिपीको आर्थिक साझेदारीमा निड्स नेपालले सञ्चालन गरेको हरित पुनःस्थापना प्रवर्द्धन परियोजना अन्र्तगत तालिम आयोजना गरिएको हो ।

कुहिने फोहरमैलालाई घरायसी स्तरमा व्यवस्थित गरि त्यसलाई आर्थिक उत्पादनसँंग जोड्ने उद्देश्यले परियोजना सञ्चालन भएको हो ।परियोजना अन्र्तगत भीमदत्त नगरपालिकाका विभिन्न टोल विकास संस्था तथा समुदायका प्रतिनिधिहरुलाई श्रोतमा नै फोहरमैला छुट्याउने र ठोस फोहरमैलाको घरायसि स्तरमा प्रभावकारि व्यस्थापन गर्नेबारे एक दिने प्रशिक्षण तालिम आयोजना गरिएको परियोजना संयोजक केशबराज पन्तले बताए ।

उनका अनुसार कार्यक्रममा नगरपालिकाका वन वातावरण तथा फोहरमैला व्यवस्थापन शाखा प्रमुख गणेश सिंह ठगुन्ना र निजि क्षेत्रबाट फोहरमैला व्यवस्थापनमा कार्यमा संलग्न सृजना जोशीले प्रमुख प्रशिक्षकको रुपमा प्रशिक्षण तालिम दिएका थिए । परियोजनाले नगरपालिकाको सहकार्यमा एक हजार घरधुरीलाई फोहरमैला व्यवस्थापनका लागि कुहिने फोहरबाट जैविक मल बनाउने सम्बन्धि तालिम दिने कार्यको पूर्व तयारी को रुपमा स्वयंसेवक प्रशिक्षण तालिम सन्चालन गरिएको परियोजना संयोजक पन्तको भनाईको भनाई छ ।

निड्स नेपालका कोषाध्यक्ष रविन्द्र प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका सरसफाई दुत एवं अगुवा समाजसेवि मदन बहादुर चन्द प्रमुख अथिति रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले सबै युवाले सरसफाई र फोहरमैला व्यवस्थापनमा अग्रसर हुनुपर्नेमा जोड दिए ।