शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन पुर्वाधार निर्माण सुस्त

महेन्द्रनगर । स्थापना भएको साढे चार दशकपछि कञ्चनपुरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई स्तरोन्नति गरी २०७३ पुषमा राष्ट्रिय निकुञ्जमा रुपान्तरण गरियो । विसं २०२६ मा शाही सिकार आरक्षका रुपमा स्थापित शुक्लाफाँटालाई २०३१ सालमा वन्यजन्तु आरक्षका रुपमा रुपान्तरण गरिएको हो । जैविक विविधताले भरिपुर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्तरोन्नती भएपछि वन्यजन्तु संरक्षणसँगै ईको पर्यटन प्रवद्र्धनका लागि पुर्वाधार निर्माण हुने अपेक्षा गरिएको थियो । तर राष्ट्रिय निकुञ्जमा स्तरोन्नती भएको पाँच वर्ष बितिसक्दा पनि पर्यटन विकासका लागि आवश्यक पुर्वाधार निर्माणमा भने सुस्त रहेको पाईएको छ ।


कार्यायलले निकुञ्ज भ्रणमका लागि ट्र¥याक खोले पनि त्यसलाई पुर्ण रुपमा स्तरोन्नती गरि ग्राभिल सडक निर्माण गर्न सकेको छैन् । त्यस्तै निकुञ्जको पुर्वतर्फ बेलडाँडी प्रवेशद्धारबाट पर्यटकलाई भित्र्याउन बाटो निर्माण हुन सकेको छैन् । नेपालका अन्य राष्ट्रिय निकुञ्जमा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहदाँ शुक्लाफाँटामा भने आन्तरिक पर्यटक संख्या समेत न्युन छ । शुक्लाफाँटामा पर्यटक अपेक्षाकृत रुपमा नभित्रिनुमा पर्यटन पुर्वाधारको अभाव प्रमुख कारक रहेको पर्यटन व्यवसायी प्रमानन्द भण्डारीको बुझाई छ ।


उनले शुक्लाफाँटामा पर्यटकको सहज आवागमन र आवश्यक पुर्वाधार अभाव हुदाँ ठुलो संख्यामा पर्यटक भित्र्याउन नसकिएको बताए । उनका अनुसार निकुञ्ज भित्र पानी पिचसहितको बाटो निर्माण, पुर्व र पश्चिमीद्धारबाट सहज आवागमन गराउन सके यहाँ घुम्ने पर्यटकको संख्या वृद्धि हुने छ । ‘निकुञ्ज भित्र ठुलो वर्षादको समय बाहेक अन्य समयमा सहजै जान मिल्ने बाटो छैन, राम्रो बाटो नहुदाँ पर्यटकलाई घुम्न समस्या हुने गरेको छ ।’ पर्यटन व्यवसायी भण्डारीले भने ‘पर्यटन प्रवद्र्धनका लागि निजि क्षेत्र प्रयासरत छ तर सरकारीस्तरबाट त्यसमा खासै सहयोग हुन सकेको छैन् ।’


त्यस्तै निकुञ्जमा पाईने विभिन्न वन्यजन्तुको अवलोकन, रानी ताल संरक्षण र प्रवद्र्धनमा अझै जोड दिनुपर्ने उनको भनाई छ । राष्ट्रिय निकुञ्जमा ठुलो संख्यामा पर्यटक भित्र्याउन सके आर्थिक विकासमा पनि सहयोग पुग्ने बताए । त्यस्तै उद्योग वाणिज्य संघ कञ्चनपुरको अध्यक्ष जंङ्ग बहादुर मल्लले राष्ट्रिय निकुञ्जमा ईको टुरिज्म प्रवद्र्धनका लागि नीति निर्माणमा निजि क्षेत्रलाई उपेक्षा गरिएको गुनासो पोखे । ‘विभिन्न क्षेत्रबाट पर्यटकलाई यहाँ भित्र्याउन हामीले सक्दो पहल गरिरहेका छौँ, निजी क्षेत्रको प्रयासले मात्रै पुग्दैँन् । उनले भने ‘ठोस नीति निर्माणमा यहाँका सरोकारवाला र व्यवसायीलाई उपेक्षा गरेको पाईन्छ, निजि क्षेत्रलाई उपेक्षा गरेर पर्यटन प्रवद्र्धन हुन सक्दैन् ।’ त्यस्तै पुर्वाधार निर्माण सुस्त र प्रचारप्रसारको अभाव हुदाँ शुक्लाफाँटामा पर्यटक उलेख्य मात्रामा भित्रिन नसकेको अध्यक्ष मल्लको भनाई छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख किशोर महेताले भने कार्यालयको प्रमुख जिम्मेवारी जैविक विविधता र वन्यजन्तु संरक्षण रहेको बताए । ‘निकुञ्जको पहिलो दायित्व वन्यजन्तुको संरक्षण हो, त्यसका लागि नियमित काम भईरहेको छ ।’ उनले भने ‘पुर्वाधार निर्माणका लागि ठुलो बजेट आवश्यक पर्छ, नियमित बजेटले पुग्दैँन, केन्द्रबाट नै योजना स्वीकृत भएमा पुर्वाधार निर्माण गर्न सकिन्छ ।’ साथै केन्द्रबाट नै बजेट कम आउँदा पर्यटन पुर्वाधार निर्माणमा ढिलाई भईरहेको उनको भनाई छ ।

निकुञ्जले जैविक विविधता र वन्यजन्तु संरक्षणसँगै पुर्वाधार निर्माणमा पनि जोड दिएको उनको दावि छ । कार्यालय प्रमुख महेता एक महिना अघि मात्रै शुक्लाफाँटा निकुञ्ज कार्यायलमा सुरुवा भई आएका हुन् । निकुञ्ज कार्यालयलाई चालु आर्थिक वर्षमा ११ करोड ६० लाख बजेट विनियोजन भएको छ । जसमा पुजीगत बजेट चार करोड ९७ लाख रहेको कार्यालय लेखा शाखा प्रमुख प्रेम सिंह ऐरले बताए । उनका अनुसार पुजीगत बजेटमा दुई वटा पोष्ट घर निर्माणका लागि दुई करोड, ग्राभेल बाटो निर्माणका लागि ६० लाख, घाँसे मैदान निर्माणका लागि पाँच लाखसहित नियमित योजनाका लागि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्षमा निकुञ्ज कार्यालयलाई १० करोड बजेट विनियोजन भएको थियो । जसमा पुजीगत बजेट चार करोड रहेको कार्यायलको तथ्याङ्क छ । शुक्लाफाँटामा पर्यटन प्रवद्र्धन गर्न सके यस क्षेत्रको आर्थिक समृद्धी हुने सरोकारवालाको ठहर छ । शुक्लाफाँटामा विश्वमा दुर्लभ बाह्रसिङ्गालाई दुई हजारभन्दा बढीको झुन्डमा देख्न पाइन्छ । भने थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु रहेको शुक्लाफाँटा जैविक विविधताका दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । सबैभन्दा बढी बाघको जनघनत्व रहेको संरक्षित क्षेत्रका रुपमा चिनिने शुक्लाफाँटा ३०५ वर्ग किमीमा फैलिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्