शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपक्षी गणना सुरु


महेन्द्रनगर ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु गरिएको छ । शनिबारदेखि निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो।
जलपक्षी गणनाका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञहरु, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एशोसिएशनका प्रतिनिधिलगायतको सहभागिता छ। सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार गणनामा वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरिएको छ ।
जलपक्षी गणना रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा हुने बताइएको छ। यस वर्ष जलपक्षी गणना गर्दा उनीहरुले बस्ने तालको अवस्थाका बारेमा जानकारी लिने, तालबारे जिपीएस लोकेशन लिने, विगतको पानीको सतह र अहिलेको पानीको सतहबारे रेकर्ड राख्ने, सिमसार क्षेत्रको अवस्था, तालमाथिको मानवीय अतिक्रमण तथा प्राकृतिकरूपमा भएको क्षतिबारेसमेत जानकारी समेत लिइने जनाइएको छ ।
कैलालीमा पनि गरिदैँ जलपक्षी गणना
शनिबारदेखि नै कैलालीमा पनि जलपक्षी गणना सुरु गरिएको छ। घोडाघोडी, कोहली, लोकाभौका, घोडा, सुनियारुपिया, पुरैनालगायतका ताल र कर्णाली नदीमा जलपक्षी गणना हुने बताइएको छ। गत वर्षको गणनामा कञ्चनपुरको निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा ४८ प्रजातिका जलपक्षी देखापरेका थिए भने कैलालीमा ३२ प्रजातिका जलपक्षी देखापरेका थिए। गणना अगामी माघ २ गतेसम्म गरिनेछ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्