राष्ट्रिय महिला भलिबल टोलीका प्रमुख प्रशिक्षक भट्ट सम्मानित


महेन्द्रनगर ।
नेपालको राष्ट्रिय महिला भलिबल टोलीका प्रमुख प्रशिक्षक जगदिश प्रशाद भट्टलाई सम्मान गरिएको छ । होटल व्यवसायी संघ कञ्चनपुरले शुक्रबार प्रमुख प्रशिक्षक भट्टलाई सम्मान गरिएको हो । बंङ्गलादेशमा डिसेम्बर २३ देखि २८ मा सम्पन्न भएको एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलको उपाधि दिलाउन सफल प्रशिक्षक भट्टलाई सम्मान गरिएको हो ।


होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले राष्ट्रका लागि ऐतिहासिक उपाधि दिलाउन सफल भएकोमा प्रमुख प्रशिक्षक भट्टलाई सम्मान गरिएको बताए ।
‘महिला भलिबल टोलीको अन्र्तराष्ट्रिय उपाधिले देश शिर उचो भएको छ, त्यसको पछाडि प्रशिक्षकको महत्वपुर्ण भुमिका छ ।’ अध्यक्ष भट्टले भने ‘हाम्रो क्षेत्रका प्रशिक्षकले दिलाएको अन्तर्राष्ट्रिय उपाधिले हामीलाई गौरवान्वित बनाएको छ, यस्ता व्यत्तित्वलाई सबैले सम्मान गर्नुपर्छ ।’

सम्मान कार्यक्रममा बोल्दैँ प्रमुख प्रशिक्षक भट्टले भलिबलले नेपालमा खेलकुदमय वातावरण सिर्जना हुदैँ गएको बताए । उनले सरकारले खेलाडीको सुरक्षा र भविष्यको ग्यारेण्टीसहित स्पष्ट खेलकुद नीति बनाउनुपर्ने समेत बताए । करिब तीन दशक खेलकुद क्षेत्रमा सक्रिय प्रमुख प्रशिक्षक भट्टले भने ‘सबै क्षेत्रको सहयोगले नेपाललाई ऐतिहासिक उपलब्धी दिलाउन सफल भएका छौँ, खेलकुदको विकासका लागि पूर्वाधारको अभाव छ, सरकारले त्यसतर्फ पनि ध्यान दिनु पर्दछ ।


भलिबल संघका सचिव समेत रहेको प्रमुख प्रशिक्षक भट्टले संघले भलिबलाई अझै अघि बढाउन र खेलाडी उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणसहित अन्य पहलमा जोड दिए । साथै विभिन्न समस्या र अभावका कारण लुकेर रहेका प्रतिभालाई पनि अवसर दिन आफुले काम गरिरहेको उनले बताए ।


कञ्चनपुरका व्यवसायीले गरेको सम्मानले आफुलाई थप जिम्मेवार बनाएको बताउँदैँ ‘तपाईहरुले गरेको सम्मानप्रति आभारी छु, खेलकुद क्षेत्रको विकासका लागि अझै सक्रिय भएर लाग्ने प्रेरणा मिलेको छ’ उनले भने ।
त्यस्तै उद्योग वाणिज्य संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले पनि प्रमुख प्रशिक्षक भट्टको नेतृत्व टोलीले दिलाएको सफलताले सबैलाई हर्षित बनाएको बताए ।

साथै नीजि क्षेत्रबाट आवश्यक सहयोगका लागि पनि उनले प्रतिवद्धता जनाए । सम्मान कार्यक्रम वरिष्ठ समाजसेवी लिलाध्वज बस्नेत, महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तलगायतको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्