महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको आठौँ अधिवेषन सम्पन्न भएको हो । पुस २३ गतेबाट सुरु भएको अधिवेसन शुक्रबार नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण गरिएको छ । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।
पाँच पदाधिकारीसहित एक सय १५ जिल्ला कमिटि सदस्यले सपथ लिएका छन् ।
सुदूरपश्चिम ईन्चार्ज भट्टले पार्टीलाई एकतावद्ध गरि एक नम्बर पार्टी बनाउने गरि अघि बढ्न सुझाएका छन् । सपथग्रहण कार्यक्रममा बोल्दै सचिव भट्टले ‘पार्टीभित्र जीत र हार हुँदैन, जिम्मेवारी मात्रै परिवर्तन हुन्छ । तपाईंहरूको जिम्मेवारी बढ्यो । आज प्रारम्भिक बधाई हो, स्थानीय तहको चुनाव जिताउनुस्, दोस्रो बधाईको पात्र बन्नुहुन्छ, प्रदेश र केन्द्र जिताउनुभयो भने नेतृत्वको कुशलता देखिन्छ,’ उनले भने । सचिव भट्टले हारजीतका कारणले पार्टीमा आग्रह–पूर्वाग्रह नराख्न समेत निर्देशन दिए ।
नेकपा एमाले कञ्चनपुरका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र विष्टले आगामी चुनावमा नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी रहेको बताउँदै कांग्रेसलाई हराउने एमाले बनाउने बताएका छन् ।
नवनिर्वाचित जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा शुक्रबार बोल्दै विष्टले भने, ‘कांग्रेससँग प्रतिस्पर्धा गर्नुपर्नेछ, कांग्रेस हराउने एमाले बनाउँछु । डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवाजस्तै कञ्चनपुरमा एक व्यक्ति कहिल्यै चुनाव हार्दैन भन्ने गरिएको भए पनि एमालेले हराएरै छाड्ने अध्यक्ष विष्टले बताए । ‘देउवाजस्तै कञ्चनपुरमा पनि एक अमुक व्यक्ति कहिल्यै हार्दैन भन्छन् तर हामी हराउँछौं,’ उनले भने, ‘एमालेमा अब माओवादी र कांग्रेसका साथीहरू आउँदैछन् । मेरो कुरा भएको छ ।’
साथै शुक्रबार नयाँ कमिटिको पहिलो बैठक पनि सम्पन्न भएको उनले बताए । उनका अनुसार बैठकले अधिवेषसन सफल पार्नेमा सहयोग गर्ने नेता, कार्यकर्ता, निर्वाचन समिति र पत्रकारलाई धन्यवाद दिएको छ । त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा आवश्यक पहल तथा सहयोगसहित समसामयिक विषयमा प्रस्ताव पेस गरेको छ ।
निवर्तमान अध्यक्ष वीरबहादुर थापा ‘पातल’को व्यवस्थापन गर्न जरुरी रहेको बताउँदै उनले नेतृत्वमा जाम लगाउन नहुने बताए । ‘पार्टीको आन्तरिक चुनावमा कोही हारेको छैन, सबैको जीत भएको छ । सबैलाई समान व्यवहार हुन्छ, काम गर्ने एमालेको खोजी हुन्छ, चिया पसलमा गफ मात्र गर्ने एमालेको समीक्षा गरिन्छ ।
कार्यक्रममा निर्वतमान अध्यक्ष पातलले चुनाव हारे पनि एमाले नछाड्ने बताएका छन् । निर्वाचन अघि र पछि उठेका विभिन्न सन्देहहरूको खण्डन गर्दै पातलले भने, ‘जे जे गर्ने हो यही बसेर गरिन्छ, बाहिर जाने कल्पना पनि गर्न सकिन्न ।’
सहमति नजुटेपछि पार्टीको आन्तरिक प्रतिस्पर्धामा जानु लोकतान्त्रिक अभ्यास भएको उनले बताए । ‘चुनाव हारे पनि म नेकपा एमाले हुँ, एमाले नै रहन्छु,’
चुनाववको क्रममा केही मिडियाहरूले आफूविरुद्ध ठूलो प्रहार गरेकोमा उनले आक्रोश व्यक्त गरे । बाहिरका केही तत्वहरूले सामाजिक सञ्जालमा आफूविरुद्ध आक्रमण गरिरहेको बेला आफ्नै भनिएका मिडियाले समेत शृंखलावद्ध भ्रम फैलाएको भन्दै उनले आपत्ति जनाए ।
‘हामी हारेका सम्हालिने, तपाईं जितेका मात्तिने,’ उनले भने, ‘हाम्रै मिडिया लगाएर आक्रमण गर्ने ? तिनीहरूलाई कारवाही गर्ने कि नगर्ने ?’
कसले कसलाई भोट हाल्यो भन्ने आधारमा कसैप्रति पनि आग्रह–पूर्वाग्रह नराख्न उनले आग्रह गरेका छन् ।
उनले भने, ‘केही नपाएर एमालेमा आएको हैन, एमालेको विचार र नीति मन पराएर आएको हुँ । बाँकी जीवन पनि एमालेमै रहन्छु, तपाईंहरूको साथ र सहयोगको अपेक्षा गर्छु ।’

