महेन्द्रनगर । निड्स नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिकालाई फोहरमैला व्यवस्थापन शाखाका लागि आवश्यक सामाग्री सहयोग गरेको छ । सोमबार निड्स नेपालले हरित पुनः उत्थान प्रवद्र्धन परियोजना (पिजिआरपी) परियोजना अन्र्तगत सरसफाईकर्मीलाई आवश्यक सामाग्री सहयोग गरेको हो ।

भीमदत्त नगरपालिका र युएनडिपीको साझेदारीमा निड्सले परियोजना सञ्चालन गरिरहेको छ । परियोजना संयोजक केशबराज पन्तले फोहरमैला व्यवस्थापन शाखाका लागि आवश्यक सामाग्री नगरपालिकालाई हस्तान्तरण गरिएको बताए । उनका अनुसार सहयोग सामाग्रीमा ४० सेट प्राथमिक स्वास्थ्य सामाग्री, ३९ जना सरसफाईकर्मीका लागि पोषाक, ज्याकेट, ७० थान टोपी, २०० थान बुट, ६९० थान पञ्जा, र सात हजार दुई सय थान सार्जिकल मास्क रहेको छ । करिब सात लाख बढी मुल्य बराबरको सामाग्री नगरपालिकाकी उप–प्रमुख शुसिला चन्द सिंहलाई हस्तान्तरण गरिएको हो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिंह धामी, स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशी, निड्स नेपालका कोषाध्यक्ष रविन्द्र प्रशाद देवकोटा, कार्यकारी निर्देशक भवराज रेग्मी लगायतको सहभागीता रहेको थियो । निड्सद्धारा गरिएको सहयोग सामाग्रीले नगरपालिकालाई सरसफाई व्यवस्थापनमा ठुलो सहयोग पुग्ने उप–प्रमुख चन्दले बताईन् । उनका अनुसार उक्त सामाग्रीले नगरपालिकाको फोहरमैला व्यवस्थापनका लागि कर्मचारीलाई परिचालन गर्न सहयोग पुग्नेछ ।

त्यस्तै निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले फोहरमैला व्यवस्थापनसँगै सरसफाईकर्मीको सुरक्षालाई मध्यनजर गरि आवश्यक सामाग्री सहयोग गरिएको बताए । निड्सले विभिन्न परियोजनामार्फत आर्थिक, सामाजिक रुपान्तरणका लागि सुदूरपश्चिम प्रदेश भरिमा काम गरिरहेको उनको भनाई छ ।