महेन्द्रनगर । नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरका सांसद तथा स्थानीय तहका प्रमुखहरुले रोकिएको महाकाली पुल आयोजनाको निर्माण छिटो हुनुपर्ने माग राख्दै भौतिक तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार सांसद डा. दिपकप्रकाश भट्ट, निरुदेवी पाल, नरबहादुर धामी र भीमदत्त नगर प्रमुख सुरेन्द्र विष्टलगायतले सिंहदरबारस्थित भौतिक तथा यातायात मन्त्रालयमा पुगेर सचिवको ध्यानाकर्षण गराएका हुन् ।
म्याद गुज्रन लाग्दा पनि महाकाली पुल आयोजनाको काममा ढिलासुस्ती भइरहेकोतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएको सांसद भट्टले बताए । ‘अहिले महाकालीमा तटबन्ध, ६ लेनको बाटो, पहुँच मार्ग र ४ लेन पुल लगायतको काम रोकिएको छ,’ उनले भने, ‘निर्माणका कार्यहरु छिटो अगाडि बढ्नुपर्नेमा ढिलासुस्ती भइरहेको छ ।’ मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई ध्यानाकर्षण गराइएको उनले बताए । ‘महाकाली पुल आयोजनाको डिजाइनमै समस्या देखिएको छ,’ सांसद भट्टले भने, ‘उहाँहरुले स्थलगत अनुगमन गरेर डिजाइन परिवर्तन गरी निर्माणको कार्य अगाडी बढाउने आश्वासन दिनुभएको छ ।’

