काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग सम्झौता एमसीसी प्रतिनिधिसभामा टेबल भएको छ ।
सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल र केही सत्तारुढ दलहरुकको विरोधका बीच एमसीसी संसदमा टेबल भएको हो ।
कार्कीले नै २०७४ भाद्र २९ गते अर्थमन्त्रीका रूपमा नेपालको तर्फबाट सम्झौतमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौतालाई केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडाले अनुमोदनका लागि संसद्मा पठाएका थिए ।
प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको एमसीसी सम्झौतालाई सरकारको तर्फबाट मन्त्री कार्कीले संसद्को बैठकमा प्रस्तुत गरेका हुन् । दर्ता भएको सन्धि वा सम्झौतालाई सम्बन्धित मन्त्रीले प्रस्तुत गर्नुपर्ने प्रतिनिधिसभा नियमावली, २०७५ को व्यवस्थाअनुसार उनले प्रतिनिधिसभा बैठकमा टेबुल गरेका हुन् । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले एमसीसी संसद्मा दर्ता गराएकाले हाल अर्थमन्त्री जनार्दन शर्माले सरकारको तर्फबाट सभामा प्रस्तुत गर्नुपर्ने हुन्छ । अर्थमन्त्री उपस्थित नभएकाले कार्कीले पेश गरेका हुन् ।

