महेन्द्रनगर । कञ्चनपुरका पत्रकार तथा एकिकृत समाजवादीका नेता खेम भण्डारी भीमदत्तको मेयरमा उम्मेदावारी दिने ईच्छा जाहेर गरेका छन् । नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटि समेत सदस्य रहेका भण्डारीले सामाजिक सञ्चालमाफर्त आफ्ना एजेण्डा प्रस्तुत गरिरहेका छन् ।
उनले आफुले राखेका एजेण्डमा जनमत देखिए स्थानीय निर्वाचनमा भीमदत्त नगरपालिकाको प्रमुखमा दावि गर्ने र पार्टीसँग टिकटका लागि पहल गर्ने बताएका छन् । पत्रकार भण्डारीले शनिबार फेसबुकमा के यसरी चुनाउ जितिएला ? भन्दैँ ३० एजेण्डा प्रस्तुत गरेका छन् । जसमा नयाँ काम गर्ने भन्दा पनि नगरमा रहेको बेथितिलाई सुधार्ने उनले दावि गरेका छन् । साथै ठुला योजना भन्दा पनि साना जनजिविकाको सवालसँगै जोडिएका कामलाई प्राथमिकता दिने उनको भनाई छ ।
के यसरी चुनाउ जितिएला ?
–असम्भव काम गर्न सकिन्न भनेर ।
–अनावश्यक काम हुन्न भनेर ।
–भ्रस्टाचारको अनुसन्धान गरी पाता कसिने छ भनेर ।
–अतिक्रमणमा डोजर चलाइने छ भनेर ।
–बेरुजु फर्छ्यौट गर्न डण्डा चलाउने छु भनेर ।
–पार्टी स्वार्थभन्दा माथी उठेर साझा ब्यक्ती बन्ने छु भनेर ।
–सडकपेटी र सार्वजनिक स्थल सफा र सज्जित राख्न कठोर कानुन लगाउछु भनेर ।
–कौडी दरमा भाडा र लिजमा दिएका सार्वजनिक सम्पत्ती खाली गराउछु भनेर ।
–गत पाँच वर्षको लुटको भण्डाफोर गर्छु र लुटेरा जत्थालाई जेल कोच्छु भनेर ।
–केही बिचौलियाको चंगुलबाट मुक्त रहनेछु भनेर ।
–गलगाड बनेको अनावयक कर्मचारीतन्त्रलाई चुस्त र उत्पादनशील बनाउछु भनेर ।
–ठूला ठूला योजनाका गफ होइन सानासाना सुधार गर्छु भनेर ।
–सरकारी र सामुदायिक विद्यालयमा राजनीती हटाउँछु भनेर ।
–निजि शिक्षाको बहुआयामिक शोषण समाप्त गर्छु भनेर ।
–करको दर स्वाट्टै घटाएर दायरा ह्वात्तै बढाउँछु भनेर ।
–नगर विकासको जग्गाका माफियालाई ठोक्छु भनेर ।
–कृषकको दुश्मन बिचौलिया प्रणालीलाई हटाउने बिकल्पमा काम गर्छु भनेर ।
–सशर्त अनुदानको नाममा थोपरिने कामै नलाग्ने झन्झटको प्रतिवाद गर्छु भनेर ।
–भाइ भतिजा पाल्ने उद्देश्यले थालिएका सबै काम रोक्छु भनेर ।
–स्रोत सुनिस्चितताबिनै थालिएका सबै निर्माण रोक्छु, अनावश्यक योजनाका सम्झौता रद्द गर्छु भनेर ।
–लक्ष्य प्राप्त गर्न नसक्ने सरकारी र सामुदायिक विद्यालय र तिनका शिक्षकलाई दण्ड र प्राप्त गर्नेलाई पुरस्कारको ब्यवस्था गर्छु भनेर ।
–निजी विद्यालय र शैक्षिक संस्था कोठे हुनुहुन्न, पर्याप्त भौतिक पूर्वाधार र एउटा फूटबल ग्राउण्ड बराबरको खेल मैदान हुनुपर्ने टाइमलाइनयुक्त कानून बनाइने छ भनेर ।
–विकास योजनामा अवरोध गर्नेहरूमाथि चाहिए जति बल प्रयोग गरेर भए पनि डम्पिङ साइट जस्ता योजना सम्पन्न गरिने छन् भनेर ।
–छाडा चौपाया नियत्रणमा भएको लुटपाटको जाँच गराउँदै यो ६ महिनामैं यो समस्याको ९० प्रतिशत समाधान गर्छु भनेर ।
–नगरमा यउभल कउबअभ पर्याप्त बनाउन सबै खालका अतिक्रमण हटाउन आइपरे बल पनि प्रयोग गरिने छ भनेर ।
–समयसीमा भित्र सेवाप्रवाह गर्न सफ्टवेयर आधारित गुनासो सम्बोधन प्रणाली जडान गरेर निर्धारित समयभित्र सेवाग्राहीको सम्बोधन नभए सम्बन्धित शाखा र कर्मचारीलाई ठाउँको ठाउँ कार्वाही गर्ने इ–गभर्नेन्स सिस्टम सुरु गर्नेछु भनेर ।
–पारदर्शीता र सुशासन कायम गर्न मेयरसमेतको निगरानी गर्ने सर्वदलीय संयन्त्र र प्रणाली बनाउने छु भनेर ।
–आज के काम भयो, निर्णय के भए, खर्च कति भयो भन्ने आजै सार्वजनिक गर्ने अनलाइन नोटिस बोर्ड चलाउछु भनेर ।
–टेण्डर र कोटेसनको प्रकृया अनलाइन लाइभबाट गरिनेछ भनेर ।
–कमिसनका लागि मात्रै किनिएका, उपयोग नै नभएका वा उपयोग खर्च अस्वाभाविक भएका गाडीदेखि निर्माण यन्त्र लिलाम गरि नगरपालिकालाई अनावश्यक आर्थिक बोझबाट तत्कालमुक्त गर्छु भनेर ।
–आवश्यक संख्यामा मात्रै कर्मचारी राखिने छ, ज्यालादारीका नाममा मच्चाइएको बितण्डा पूर्ण रूपमा रोकिनेछ, १५० कर्मचारीले पुग्छ, त्यसबाहेकका झण्डै दुई सय कर्मचारी हटाइने छ भनेर ।
–पिए, सल्लाहकार, बिज्ञ भन्दै आफ्ना मान्छे पोस्ने काम शून्यमा झारिने छ, चाहिए पटके रूपमा सेवा लिइनेछ भनेर ।
–डल्लो बजेटको खेल हटाइने छ, योजना छनोटको प्रक्रियालाई पारदर्शी बनाएर रातोकिताबमा सम्पूर्ण योजना खुलस्त बनाइने छन् भनेर ।
–उपभोक्ता समिती र अमानतबाट काम गर्ने परिपाटी रोखेर एक लाखभन्दा माथिका योजना र खरिद टेण्डरबाटै हुने ब्यवस्था हुनेछ भनेर ।
–आसेपासे पोस्न एउटा योजनालाई खण्डिकरण गरेर बाँड्ने जस्ता दुस्कर्म भ्रस्टाचार ठहरिने कानुनी प्रवन्ध गरिने छ भनेर ।
–माथिका काम पदभार सम्हाले लगत्तै सुरु हुनेछन् भनेर ।
(यस्ता कुरा उठाएर चुनाउ जितिन्छ भन्ने सुझाव आए मात्रै मैले भीमदत्तको मेयरमा उम्मेदवारीका लागि टिकेटको प्रयास गर्नेछु । यी काम गर्न नसक्ने हो भने मेयर हुनुको कुनै तात्पर्य छैन । तीतो कुरा गरेर चुनाउ जितेको मैले अहिलेसम्म नदेखेको हुनाले तपाइहरूको सुझाव मागेको हुँ । चिल्ला र नक्कली कुरा गर्न नजान्ने हुनाले समयमै आफूलाई प्रस्तुत गरेको छु ।)

