महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका साक्षर घोषणाको तयारीमा जुटेको छ । साक्षर घोषणाका लागि नगरपालिकाले विभिन्न वडामा साक्षर कक्षाहरु सञ्चालन गरेको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार अहिले नगरपालिका ६० वटा साक्षर कक्षाहरु सञ्चालनमा छन् । भीमदत्तमा यसअघि नै साक्षरता प्रतिशत ९४ पुगेको छ । ‘नगरपालिकालाई चैतभित्रै साक्षर घोषणा गर्ने लक्ष्य अनुसार काम भइरहेको छ,’ जोशीले भने, ‘सबै वडामा साक्षरता कक्षाहरु सञ्चालनमा छन् ।’

युनेस्कोको मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतिशत साक्षर भए सम्बन्धित वडा वा पालिकालाई साक्षर घोषणा गर्न सकिनेछ । ‘हामी नगरपालिकालाई साक्षर घोषणाको अन्तिम तयारीमा पुगेका छौं,’ भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘एक महिनाभित्रै साक्षर घोषणा गरिनेछ, अहिले पनि साक्ष्।र कक्षाहरु सञ्चालनमा छन् ।’ नगरपालिकाले यस अघि सर्वेक्षण गरि साक्षर दर पत्ता लगाएको थियो ।
कोरोना संक्रमण कारण ढिलाई भएपनि यसै वर्षभित्रमा साक्षर पालिका घोषणा गर्ने तयारीका साथ काम भईरहेको छ ।
नगर प्रमुखद्धारा अनुगमन
बुधबार नगर प्रमुख सुरेन्द्र विष्टले सारक्षता कक्षाको अनुगमन गरेका छन् । उनले भीमदत्त नगरपालिका १८ मा सञ्चालित कक्षाहरुको स्थलगत अनुगमन गरि त्यसबारे जानकारी लिएका हुन् । अनुगमनका क्रममा कक्षाहरु नियमित लिन र साक्षर बन्न स्थानीयलाई आग्रह गरे ।