कञ्चनपुर पुगेर अध्यक्ष नेपालले भनेः‘मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ’

महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताएका छन् । उनले समाजवादी सुदूरपश्चिममा ठूलो पार्टी भएकाले मुख्यमन्त्रीमा दाबी हुने बताए ।
‘सुदूरपश्चिम प्रदेश सभामा समाजवादी सबैभन्दा ठूलो पार्टी हो,’ आइतबार कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ठुला पार्टीको हैसियतले मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ, तर अहिले हाम्रो ध्यान मुख्यमन्त्रीभन्दा चुनाव केन्द्रित छ ।’ उनले समाजवादी पदका लागि मरिहत्या नगर्ने र जिम्मेवारीबाट पछि नहट्ने बताए ।

अध्यक्ष नेपालले कार्यकर्तालाई चुनाव तयारीमा लाग्न निर्देशन दिए । उनले गठबन्धनका लागि अन्य पार्टीहरुसँग पनि छलफल भइरहेको बताए । ‘संविधान र गणतन्त्र बचाउन चाहने तथा समाजवाद र परिवर्तन चाहने दलहरु चुनावमा एक ठाउँमा हुन्छन्,’ उनले भने, ‘राजतन्त्र र प्रतिगमन चाहनेहरु एक ठाउँमा हुन्छन् ।’

मुलुकलाई समृद्धितर्फ लैजान र जनताका सबै समस्या समाधान गर्न एमाले र माओवादीबीच एकीकरण भए पनि केपी ओलीले पार्टीलाई दक्षिणपन्थी बाटोमा हिँडाउने र प्रतिगामी कदम चालेपछि विद्रोह गरेको बताए । ‘अहिले केपी ओलीका सातो गएको छ, बर्बराउन थालेका छन्, गालीगलौजमा उत्रेका छन्, विक्षिप्त भइसके,’ उनले भने, ‘राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनको जित देखेर अहिले पनि आत्तिएका छन्, उनी सोत्तर भइसकेका छन् ।’
आइतबार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दसहित अन्य जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउन नेपाल कञ्चनपुर पुगेका हुन् । उनले चन्दसँगै बेदकोट नगरपालिका ५ वडाध्यक्ष, ६ कार्यपालिका सदस्यसहित २६ जना जनप्रतिनिधिलाई पार्टी प्रवेश गराए ।

यसैगरी विभिन्न पालिकाबाट विभिन्न पार्टी छाडेर आएकाहरलाई पनि उनले पार्टी प्रवेश गराए । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित भएका चन्द गत वर्ष संसद् विघटनपछि माधव नेपाल समूहमा लागेका थिए । पार्टी विभाजनपछि भने उनले एमालेमै रहने निर्णय गरेका थिए । उनले नगरपालिकामा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिको बैठक गरेर एमालेमै रहने निर्णय गरेका थिए ।

पछिल्लो पटक पुस अन्तिममा सम्पन्न जिल्ला कमितिको अधिवेशनमा उनी सचिव झिनो मतले पराजित भएका थिए । ‘हार स्वीकार गरेर बस्दा पनि हामीलाई अपमानित र अपहेलित गरियो,’ पार्टी प्रवेश कार्यक्रममा बोल्दै चन्दले भने, ‘कहिले दस बुँदे पक्षधर त, कहिले माधव नेपाल समूह भनेर लखेट्ने काममात्रै भयो ।’ उनले जिल्ला कमिटीको अधिवेशनपछि पराजित भएकाहरुलाई पाखा लगाउने रणनीतिअनुरुप जिम्मेवारीबाट हटाउने काम गरिएको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्