समृद्धीको यात्रामा भीमदत्तः पाँच वर्षे उपलब्धी सार्वजनिक(प्रमुख कामसहित)

भीमदत्तमा स्थानीय सरकारको आधार र विकासको जग बसेको छ’: मेयर विष्ट

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच वर्षे प्रमुख उपलब्धीको विवरण सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्भेलन गदैँ नगरपालिकाले स्थानीय सरकारको नेतृत्वपछि भएका प्रमुख उपलब्धीहरुको विवरण सार्वजनिक गरेको हो । २०७४ असार १४ गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा भएक प्रमुख कार्यबारे नगरपालिकाले पत्रकार सम्भेलन गरेको थियो ।


नगरपालिकाले पाँच वर्षमा संघियताको आधारशिला स्थानीय सरकारको जग बसालेको जनाएको छ । भने स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर संविधानले दिएको अधिकार प्रयोग गर्दै कानुन निर्माणसँगै पुर्वाधार विकास र आन्तरिक आय सुधार लगायतमा जोड दिएको छ । नगरपालिकाका ईन्जिनियर हिमालय सिह ऐरीले प्रस्तुत गरेको पाँच वर्षीय उपलब्धीको संक्षिप्त विवरणमा भौतिक पूर्वाधार निर्माणदेखि साझेदारी विकास मोडेल प्रस्तुत गरिएको थियो ।


पुर्वाधार निर्माणमा फड्को

स्थानीय सरकारको नेतृत्वले पुर्वाधार निर्माणमा फड्को मारेको छ । नगरपालिकाले पाँच वर्षमा आफ्नै श्रोत साधनबाट ४८ किलोमिटर सडक कालोपत्रे गरेको छ, भने ५४ किलोमिटर सडक कालोपत्रे मर्मत, २४७ किमि ग्रोभेल, १७ किमि नयाँ सडक निर्माण, ४.८३ किमि पदमार्ग निर्माण गरेको छ । त्यस्तै २९ किलोमिटर धार्मीक पर्यटन मार्ग निर्माण गरि कालोपत्रे सुरु गरिएको छ भने ८३ किलोमिटर बाहिरी चक्रपथ र भित्रि चक्रपथ निर्माण कार्य सुरु गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा पर्यटन मार्ग निर्माण गरिएको छ ।
नगरका सबै वडामा वडा कार्यायल भवन निर्माण गरिएको छ । हालसम्म १४ वडा कार्यालय निर्माण भई सञ्चालनमा आएका छन् भने तीन वडा निर्माणको अन्तिम चरणमा रहेको र दुई वडाका कार्यालय भवनको निर्माण कार्य सुरु गरिएको छ । त्यस्तै ११ आधारभुत स्वास्थ्य केन्द्र भवन, तीन वडा बर्थीङ सेन्टर भवन र तीन वटा सामुदायिक भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ । ९८ कल्र्भट निर्माण, १७२ स्थानमा सौर्य बत्ति जडान, ११ पार्क , ११ चौतारा निर्माण गरिएको ईन्जिनियर ऐरले बताए । उनका अनुसार क्षेत्रीय शहरी कार्यक्रम अन्र्तरगत ११ किलोमिटर कालोपत्रे सडक र २२ किलोमिटर नाला निर्माण गरिएको छ ।

१ सय १० कानुन निर्माण

भीमदत्त नगरपालिकाले पाँच वर्षको अवधिमा एक सय १० कानुन निर्माण गरेको जनाएको छ । जसमा ऐन, कार्यविधि, मापदण्ड रहेका छन् । स्थानीय तहको सरकार बन्दा कानुन अभाव रहेको नगरपालिकाले कानुन निर्माण गरि विकास निर्माणका काम अघि बढाएको जनाएको छ । त्यस्तै नगर उप–प्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिले १ सय १ मुद्धा फछयौट गरेको छ । एक सय २९ उजुरी दर्ता भएकोमा न्यायिक समितिले मेलमिलाप, उचित न्यायिक परामर्शबाट मुद्धा किनार लगाईएको छ । त्यस्तै न्यायिक समितिले पाँच मेलमिलाप केन्द्र निर्माण गरेको छ भने मेलमिलापकर्तालाई तालिम पनि दिएको नगरपालिकाले जनाएको छ ।

विकासमा साझेदारी

नगरपालिकाले विकास निर्माण कार्यलाई सरोकारवाला निकायसँगको सहकार्य अघि बढाएको छ । नगरपालिकाले महाकाली प्रादेसिक अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयलाई पनि सहयोग गरेको छ । महाकाली अस्पतालको सेवा सुधार, पिसिआर मेसिन खरिद गरि हस्तान्तरण, अक्सीजन सिलिन्डर खरिदका लागि सहयोगलगायतमा नगरपालिकाले साझेदारी गरेको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयको पार्क निर्माण, जिल्ला प्रहरी कार्यायलको पर्खाल निर्माणका लागि नगरपालिकाले आर्थिक सहायता गरेको हो । त्यस्तै नगरपालिकाले नगरवासीलाई निशुल्क रगत उपलब्ध गराउन रेडक्रसलाई वर्षेनी तीन लाख सहयोग गर्दै आएको छ । दन्द्धकालमा बन्द भएको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि तीनै तहसँग सहकार्य गरेको छ । त्यस्तै सरकारी र गैर सरकारी संघ सस्थाहरुसँगको सहकार्यमा पनि नगरपालिकाले थुप्रै योजना अघि बढाएको छ ।

१० वर्षे शिक्षा सुधार गुरु योजना

भीमदत्त नगरपालिकाले शिक्षा सुधार कार्यदल निर्माण गरि कार्यदलले दिएको प्रतिवेदनको आधारमा शिक्षा सुधार योजना निर्माण गरेको छ । नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि लामो समयदेखि समस्याको रुपमा रहेको शिक्षक दरबन्दी मिलान गरेको छन भने स्थानीय पाठ्यक्रम निर्माण, सामुदायिक विद्यालयका पुर्वाधार निर्माण, ई–हाजिरी व्यवस्था लगायका काम गरेको छ ।

शहरी योजना आयोग गठनः योजना बैंकदेखि २५ वर्षे गुरु योजना निर्माण

भीमदत्त नगरपालिकाले समृद्ध नगर निर्माणका लागि २५ वर्षे गुरु योजना निर्माण गरेको छ । नगरपालिकाले विकास आयोजनाको प्राथमिकिरणसहित कार्यान्वयनका लागि शहरी योजना आयोग गठन गरेको हो । आयोगले २५ वर्षे गुरु योजना गरेको छ । साथै आयोगले योजना बैक पनि निर्माण गरिरहेको आयोगले जनाएको छ ।

मेयर उद्यमशिलता कार्यक्रम सञ्चालन

नगरपालिकाले न्युन आय श्रोत भएका विपन्न वर्गलाई लक्षीत गरि मेयर उद्यम शिलता कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगर प्रमुख विष्टले नेपाल बैकसँगको सहकार्यमा उक्त कार्यक्रम सुरु गरेका हुन् । नगरपालिकाले बिना धितो बिना ब्याज पाँच लाखसम्म ऋण उपलब्ध गराउँदै आएको छ । साथै नगरपालिकाले उद्यमी उत्पादनका लागि उद्यमशिलता तालिम पनि दिदैँ आएको छ ।

आन्तरिक आय श्रोतमा उल्लेख्य सुधार

भीमदत्त नगरपालिकाले स्थानीय सरकारको नेतृत्वपछि आन्तरिक आयमा उल्लेख्य सुधार गरेको छ । स्थानीय सरकारको नेतृत्वअघि पौउने चार करोड आन्तरिक राजस्व रहेकोमा गत आर्थिक वर्षमा २३ करोड राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले राजस्व सुधार कार्ययोजना निर्माण गरि आन्तरिक आयमा सुधार ल्याएको हो । नगरपालिकाले कर दायराहरु विस्तार गरि राजस्व विस्तार गरेको हो ।

दुर्गमबाट सुगम बनाईयो खल्ला–मसेठ्ठी

स्थानीय सरकारको नेतृत्व आउनुपर्व भीमदत्त नगरपालिकाको सबैभन्दा दुर्गमबस्तीको रुपमा चिनिने खल्ला, टुडिखेल र मच्छेट्टीले विकासको मुहार फेरेको छ । वर्षौँ देखि विकास न्यूनतम पुर्वाधारको अभाव रहेको भीमदत्त–९ को यी बस्तीमा स्थानीय सरकारको नेतृत्वपछि सडक, विद्युत र सञ्चार सेवाको पहुँचमा जोडिएको हो ।

सञ्चारका लागि भारतीय सिम कार्ड प्रयोग गदैँ आएको स्थानीयले नेपाल टेलिकमको सञ्चार सेवा प्रयोग गर्न पाएका छन् । भने विद्युत आपुर्तीले बस्ती उज्यालो भएको छ । खल्ला, टुडिखेल र मच्छेट्टीवासीको वषौँपछि विकासका पुर्वाधारसँग जोडिएको हो । सडक, विद्युत र सञ्चार सेवा विस्तार भएपछि स्थानीयको जनजीवन सहज भएको छ ।

महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन

सुदूरपश्चिममै प्राविधिक शिक्षामा लामो समयदेखि रहेको निजि क्षेत्रको एकाधिकार नगरपालिकाले अन्त गरेको छ । भीमदत्त नगरपालिकाले आफ्नै प्राविधिक शिक्षालय सञ्चालनमा ल्याएपछि निजि क्षेत्रको एकाधिकार तोडिएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभिटीई ) ले भीमदत्त नगरपालिकालाई डिप्लोमा तहका प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालनका लागि स्वीकृति दिएपछि प्राविधिक शिक्षालय सञ्चालनमा आएको छ । भीमदत्तले सञ्चालन गर्ने महाकाली प्राविधिक शिक्षालयमा नर्सिङ्ग सहितका सात कार्यक्रम सञ्चालन गर्ने योजना छ । शिक्षालय सञ्चालनपछि न्युन आय श्रोत भएको विद्यार्थीले सस्तोमा प्राविधिक शिक्षा पढ्न पाउने छ ।

महाकाली अस्पताल सुधार व्यवस्थापनमा महत्वपुर्ण सहयोग

केहि वर्षअघि रिफर सेन्टरको रुपमा चिनिने महाकाली अस्पतालले अहिले कोल्टो फेरेको छ । सेवा सम्पादनलाई विस्तारसँगै सुर्धाैदैँ गएपछि महाकाली अस्पतालप्रति जनविश्वास पनि बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत रहेको महाकाली अस्पताल सुधार तथा व्यवस्थापन स्थानीय सरकारको रुपमा रहेको भीमदत्त नगरपालिकाले पनि महत्वपुर्ण सहयोग गरेको छ । विशेष गरि कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि महाकाली प्रादेशिक अस्पताललाई व्यवस्थीत बनाउन नगरपालिकाको महत्वपुर्ण सहयोग गरेको हो ।
कोरोना परिक्षणका लागि धनगढी र काठमाडौँ जानुपर्ने बाध्यता रहेका बेला नगरपालिकाले पिसिआर मसिन खरिद गरि महाकाली अस्पताललाई हस्तान्तरण ग¥यो । त्यसले जिल्लामै कोरोना संक्रमण परिक्षण भईरहेको छ । भने संक्रमण नियन्त्रणमा सहज भएको छ । भने कोरोना संक्रमणको उपचारका लागि अक्सीजन अभाव हुदाँ भीमदत्त नगरपालिकाले त्यसको व्यवस्पथानका लागि २० लाख रुपयाँ आर्थिक सहयोग गरेको थियो ।
त्यस्तै नगरपालिकाले महाकाली अस्पतालाई दुई जना विशेषज्ञ चिकित्सक उपलब्ध गराएको छ । उनिहरुको परिश्रमीक नगरपालिकाले अस्पताललाई भुक्तानि दिदैँ आएको छ । योसँगै नगरपालिकाले समृद्ध नगरको विकासका लागि माहततका निकाय मात्रै नभई संघ,प्रदेश र सरोकारवाला निकायसँग समन्वय, सहकार्य र आपसी सहयोगको भावनाका साथ काम गरिरहेको छ ।
पर्यटन पुर्वाधार निर्माण र प्रचार प्रसार

स्थानीय सरकारको नेतृत्व अघि पुर्वाधार र प्रचारको पर्खाईमा रहेका यस क्षेत्रका पर्यटकीय क्षेत्रहरुले नयाँ जिवन पाएका छन् । भीमदत्त नगरपालिकाले पर्यटन पुर्वाधार निर्माण र प्रचारप्रसारमा देखाएको सक्रियता यहाँ पर्टकिय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । नगरपालिकाले धार्मिक र ऐतिहासिक महत्व बोकेका क्षेत्रको प्रचारप्रसारसँगै त्यहाँ आवश्यक पुर्वाधार निर्माण गरेको छ । धार्मीत तथा एतिहासिक महत्व बोकेको झिलमिला तालसम्म सडक निर्माण गरिएको छ । जसले घण्टौँ हिडेर जानुपर्ने बाध्यताको अन्त भएको छ । साथै झिलमिला–ब्रह्मदेव केबुलकारको सम्भाव्यता अध्ययन परि गरिएको छ ।
भीमदत्त–८ मा रहेको भम्केनी धामको विकासका लागि पनि नगरपालिकाले महत्वपुर्ण साझेदारी गरेको छ । जगद गुरुको पहलमा निर्माण भईरहेको ७५ फिट अग्लो नेपाल आमाको मुर्ती निर्माणमा नगरपालिकाले एक करोड सहयोग गर्ने प्रतिवता जनाएको छ । जसमध्ये ५० लाख सहयोग गरिसकेको छ ।

त्यस्तै नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीमा झण्डा पार्क निर्माण गरिएको छ । ७७ फिट अल्लो चन्द्र सुर्य अंङ्कीत नेपालको झण्डाले सीमामा नेपाली स्वाभिमान र राष्ट्रियता भल्काईरहेको छ । योसँगै नगरपालिकाले ‘एक वडा एक उद्यान’ कार्यक्रम अन्र्तगत सबै वडामा सार्वजनिक क्षेत्रको संरक्षण, बहुउयोगको योजनासहित पार्क निर्माण गरेको छ । बाराकुुण्डामा कुण्ड पुनर भरण र रौटेलामा त्रिशुल पार्क निर्माण गरि यस क्षेत्रको गरिमा बढाउनुका साथै पर्यटकिय आकृषण पनि थपिएको छ । धार्मिक पर्यटकीय मार्गले ब्रह्मदेवको सिद्धनाथ मन्दिर, तिलाचौरको भम्केनी धाम, तिलकपुरको साकेतधाम र बाराकुण्डाको रौटेला मन्दिरका साथै खल्ला मच्छेटीमा रहेको प्राचीन सिद्धबाबा, ऐतिहासिक ५२ कोठे दरबार, झिलमिला ताल लगायतका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थललाई एकापसमा जोड्दै सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सडक सञ्जाल निर्माण गरिएको छ ।
त्यस्तै नगरपालिकाले कृषी क्षेत्रको सुधारका लागि पनि उल्लेख्य कार्र्यक्रम सञ्चालन गरेको छ । एक वडा एक उत्पादन कार्यक्रम, पकेट क्षेत्र, कृषी अनुदान, विउ प्रशोधन केन्द्र निर्माण, यान्त्रिकरण सहयोग लगायतका कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

‘स्थानीय सरकारको बलियो जग बसेको छ’ मेयर विष्ट

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले पाँच वर्षको अवधिमा स्थानीय सरकारको बलियो जग बसेको बताएका छन् । उनले स्थानीय सरकार सञ्चालन ऐनको पुर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण र पुर्वाधार निर्माण गरिएको बताए । ‘हामी आउँदाँ कानुन थिएन्, स्थानीय सरकार सञ्चालन ऐन असोज अन्ततिर मात्रै आयो ।’ नगर प्रमुख विष्टले ‘ यो अवधिमा आवश्यक अधिकांश कानुन निर्माण गरेका छौँ, नागरिकलाई सजह रुपमा सेवा दिनका लागि पुर्वाधार निर्माण भएका छन् । सबै वडामा मुल सडक र भित्रि सडक निर्माण गरिएको छ ।’
उनले अगाडी थपे ‘सम्रगमा स्थानीय सरकारको आधारशिला जग बनेको छ, समृद्ध नगरकोे योजना अघि बढाएका छौँ ।’ साथै नगरपालिकाको नेतृत्वमाथि सधै घेराबन्दी भएकोमा उनले दुखेसो पोखे ।
‘नगरपालिकाको नेतृत्वमाथि सधैँ आरोप लगाउने कामहरु भईरहे, अझै भईरहेकै छन् ।’ उनले भने ‘ तथ्यहिन र अपुष्ट आरोपहरु लगाईरदाँ म सधैँ मनौ रहे, कुनै प्रतिवाद गरिन, हामी नगरपालिकाको विकासमा प्रतिवद्ध छौँ ।’ कोरोना संक्रमण र कानुन अभावले काम केही प्रभावित भएको उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्