राजस्व सुधार कार्ययोजना निर्माणपछि भीमदत्तको आन्तरिक आयमा उल्लेख्य वृद्धि

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँचौ राजस्व सुधारका कार्ययोजना तयार पारेको छ । नगरपालिकाले आन्तरिक आय तथा राजस्व सुधारका लागि निर्माण गरेको कार्य योजनालाई चालु आवका लागि अद्यावधि गरेको हो । क्षेत्रिय शहरी विकास आयोजना, संस्थागत परामर्शदाताद्धारा निर्माण गरिएको उक्त कार्ययोजना अद्यावधिक गरिएको वित्त विज्ञ दामोदर सुवेदीले बताए । उनका अनुसार समयानुकुल परिमार्जन गर्दै राजस्व नीतिलाई अद्यावधिक गरिएको हो ।


संस्थागत परामर्शदाताका वित्त विज्ञबाट हालसम्म नगरपालिकाका पाँच वटा राजस्व सुधार कार्ययोजना निर्माण भईसकेका छन् । नगरपालिकाले हरेक आर्थिक वर्षको कार्ययोजना निर्माण गरि सोही अनुसार नीति कार्यक्रम निर्माण तथा कार्यान्वयनको चरण पु¥याउँदै आएको छ । आर्थिक वर्ष २०७२÷७३ देखि राजस्व सुधार कार्ययोजना तयार हुदैँ आएको छ । नगरपालिकाले स्थानीय सरकारको नेतृत्वपछि कार्ययोजनाका सिफारिसलाई कार्यान्वयन गरि आर्थिक वर्ष २०७४\७५ मा ६ करोड राजस्व संकलन गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७५\७६ मा १२ करोड, आर्थिक वर्ष २०७६\७७ मा २० करोड र आर्थिक वर्ष २०७७\७८ मा २३ करोड राजस्व संकलन गरेको छ ।
राजस्व सुधार कार्ययोजना निर्माणपछि नगरपालिकाको आन्तरिक आयमा उल्लेख्य सुधार भएको छ । राजस्व परामर्श समिति, राजस्व उपशाखा, आर्थिक प्रशासन शाखा र अन्य शाखाहरुसँगको समन्वय सहकार्यमा कार्ययोजना निर्माण गरिएको हो । राजस्व सुधार कार्ययोजनाले श्रोत साधनको प्रभावकारी र अधिकतम् परिचालन, समयानुकुल कर प्रणाली परिर्वतन, निजि क्षेत्रलाई प्रोत्साहन, करका दायरामा वृद्धि, दिर्घकालिन कर नीति तथा रणनीति निर्माण, पालिकाका कामहरु पारदर्शी, मितव्ययी र औचित्यपुर्ण बनाउनु पर्ने, आर्थिक ऐन र राजस्व ऐन पारित गर्नुपर्ने, बक्यौता संकलन, राजस्वको क्षेत्र विस्तार गर्नु पर्ने लगायतका सुझाव दिएको थियो । कार्ययोजनाको सुझावलाई कार्यान्वय गर्दै नगरपालिकाले आन्तरिक आय श्रोेतको प्रभावकारी परिचालन, प्रगतिशिल कर प्रणालीको विकास, सक्षम कर प्रशासन, करका दायरामा वृद्धि तथा क्षेत्र विस्तार, कर पुनरावलोकन र कर चुहावट नियन्त्रण गर्ने नीति लिएको छ ।
त्यस्तै कार्ययोजनाले आन्तरिक आय संकलन कार्यविधि, जनचेतनामुलक कार्यक्रम, आर्थिक ऐनमा भएको छुट, जनिवानाको कार्यान्वयन, सम्पत्ति र मालपोत करको दरमा सुधार र बहाल कर लगायतमा राजस्व प्रशासनले ध्यान दिनुपर्ने उल्लेख छ । कार्ययोजनाका क्रियाकलपालाई राजस्व प्रशासन सुधार, कर राजस्व सुधार र गैरकर राजस्व सुधार योजना गरि तीन भागमा बाँडिएको छ । कार्ययोजनाले नगरपालिकाको अगामी पाँच वर्षको आयको प्रक्षेपण पनि गरेको छ । जस अनुसार आर्थिक वर्ष २०८३÷८४ मा भिमदत्तको आन्तरिक आय २८ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।
त्यस्तै कार्ययोजनाले सुधार गर्नुपर्ने क्षेत्रहरु, समिति, शाखाको जिम्मेवारी र समया अवधी पनि सिफारिस गरेको छ । वित्त विज्ञ सुवेदीले करनीतिलाई आम करदातालाई बुझाउनु पर्ने बताउँदै कार्ययोजनाको पुर्ण कार्यन्वयन भएको पालिका सबल बन्ने बताए । साथै नगरपालिकाको अगामी नेतृत्वले वर्तमान नीतिलाई आत्मसाथ गरि अघि बढ्नुपर्ने उनको सुझाव छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले पालिकालाई आन्तरिक आयमा बलियो बनाउन राजस्व सुधार योजना बनाईएको बताए । उनका अनुसार नगरपालिकाले कार्ययोजनाले दिएका सुझावलाई नितीगत रुपमा कार्यान्वय गरि राजस्वको अवस्थामा उलेख्य सुधार गरिएको छ । कार्ययोजनाले सुझाए कुराहरुलाई पुर्ण कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्