करिब ३५ हजार पदका लागि डेढ लाखको उम्मेदवारी, राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै !

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डेढ लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । जसमा राजनीतिक दलका भन्दा स्वातन्त्र उम्मेदवार धेरै छन् । मंगलबार रातिसम्मको तथ्यांकअनुसार सात सय ५३ स्थानीय तहका करिब ३५ हजार पदका लागि एक लाख ५० हजार चार सय ९४ जनाको उम्मेदवारी परेको छ ।
६ हजार सात सय ४३ वडा सदस्यसहित ३५ हजार दुई सय २१ पदका लागि स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि दर्ता भएका ७९ दल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको हो । जसमा ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिकाको प्रमुखका लागि तीन हजार चार सय ६६, उपप्रमुखका लागि दुई हजार एक सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै चार सय ६० गाउँपालिकाका अध्यक्षमा तीन हजार तीन सय ७८ र उपाध्यक्षमा दुई हजार तीन सय ९२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी ६ हजार सात सय ४३ वडा अध्यक्षमा ३४ हजार नौ सय ४३, ६ हजार सात सय ४३ वटै महिला वडा सदस्यमा २६ हजार ६३ र दलित महिला वडा सदस्यमा २३ हजार चार सय ७० जनाको उम्मेदवारी परेको छ भने प्रत्येक वडामा दुईजना खुला वडा सदस्यमा ५४ हजार ६ सय ४६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
नेकपा एमालेबाट सबैभन्दा धेरै उम्मेदवारी
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट उम्मेदवारी परेको छ । निर्वाचन आयोगको गएराति नौ बजेसम्मको विवरणअनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामध्ये प्रमुख पदमा नेकपा एमालेबाट दुई सय ८८ जनाको उम्मेदवारी परेको छ । यस्तै दुई सय ८३ स्थानीय तहमा उपप्रमुख पदमा उम्मेदवारी परेको छ । त्यस्तै नेकपा एमालेबाट अध्यक्ष पदमा चार सय ४६ र उपाध्यक्ष पदमा चार सय ४५ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, सत्तारुढ दल नेपाली कांग्रेसबाट प्रमुख पदमा दुई सय ६३, उपप्रमुखमा दुई सय १०, अध्यक्षमा तीन तीन सय ८२ र उपाध्यक्ष पदमा तीन सय ५९ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा दुई सय ४८ र उपप्रमुखमा दुई सय २७, अध्यक्ष पदमा दुई सय ९१ जनाको उम्मेदवारी परेको छ ।
स्वतन्त्रबाट झन् धेरै
स्वतन्त्रबाट प्रमुख पदमा एक हजार तीन सय ७६ र अध्यक्ष पदमा एक हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ । यस्तै अन्यबाट प्रमुख पदमा एक हजार दुई सय ९१, अध्यक्षमा एक हजार दुई सय ३५, उपप्रमुखमा एक हजार २१, उपाध्यक्षमा नौ सय १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्