कञ्चनपुरमा प्रमुख र उपप्रमुखमा १० जनाले लिए उम्मेदवारी फिर्ता

महेन्द्रनगर । कञ्चनपुरमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका १० जना प्रमुख उपप्रमुखले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख र उपप्रमुखका ५\५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

भीमदत्त नगरपालिकामा उपप्रमुखमा बागी उम्मेदवारी दिएकी नितु भण्डारीले उम्मेदवारी फिर्ता लिएकी छिन् । नेपाली कांग्रेसको भीमदत्त नगर समितिकी सचिव समेत रहेकी भण्डारीले टिकट वितरणमा असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएकी थिइन् । भीमदत्त नगरपालिकामा उपप्रमुखका उम्मेदवार ईश्वरी भट्टले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत मदनसिंह धामीले बताए ।

यसैगरि बेदकोटमा बागी उम्मेदवारी दिएका सुरेन्द्र केसीले प्रमुखबाट उम्मेदवारी फिर्ता लिएका छन् । एकीकृत समाजवादीका नेता केसीले प्रमुखमा बागी उम्मेदवारी दिएका थिए ।

कृष्णपुर नगरपालिकामा प्रमुखका उम्मेदवार रामदत्त भट्ट र उपप्रमुखकामा चन्द्र कुमारी भण्डारीले उम्मेदवारी फिर्ता लिएको कृष्णपुर नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दोधारा चाँदनी नगरपालिकामा पनि प्रमुखमा कृष्णप्रसाद जोशी र उपप्रमुखबाट धनबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कृष्णदत्त भट्टले बताए ।

पुनर्वास नगरपालिकामा प्रमुखबाट किरण चन्दले उम्मेदवारी फिर्ता लिएका छन् । बेलडाडी गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाका प्रमुखका उम्मेदवार अभिमानसिंह थापा र उपप्रमुखका उम्मेदवार रोशना थापाले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्