२३ सिटमा अड्किएको कांग्रेसलाई ९३ सिटमा पु¥याउन गठबन्धन: नेता पौडेल

तनहुँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले केपी ओलीको गठबन्धन पुरातनवादी र देशलाई पछाडि फर्काउन चाहनेहरुको भएको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले आइतबार दमौलीमा गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष ओलीको गठबन्धन पुरातनवादी, देशलाई पछाडि फर्काउन चाहने, बाहिर राष्ट्रवादको मुखुण्डो लगाएर भित्र विदेशीसामु घुँडा टेक्ने, लम्पसार पर्नेहरुको गठबन्धन भएको बताएका हुन् ।
‘ओली गठबन्धनले संविधानको रक्षाभन्दा पनि देशलाई अस्थिरतातिर धकेल्छ,’ उनले भने, ‘हाम्रो पाँच दलीय गठबन्धनले यो देश, संविधान, मुलुकलाई शान्ति प्रक्रियामा अगाडि बढाउँदै सबैको समानुपातिक अधिकार स्थापित गर्छ ।’
यस्तै, पाँच दलीय गठबन्धनको विरोध गर्नु भनेको केपी ओलीलाई बलियो बनाउनु हो भन्दै पौडेलले कांग्रेस कमजोर रहेकाले गठबन्धन गरी पहिलो शक्ति बन्न खोजिएको बताए । ‘हामीले प्राप्त गरेको ३१ प्रतिशत जनमत र हाम्रो विपक्षमा रहेको ७० प्रतिशत जनमतलाई तल झारेर हामी ५० प्रतिशतभन्दा माथि कांग्रेसलाई पु¥याउन यो गठबन्धन गरेका हौं,’ उनले भने, ‘२३ सिटमा अड्किएको नेपाली कांग्रेसलाई अब हामी ९३ सिटमा पु¥याउन चाहेकोले यो गठबन्धनबाट कांग्रेस पार्टीलाई बलियो बनाई कांग्रेसको सरकार बनाउने छौं ।’
प्रतिगमनतर्फ लैजान चाहने शक्तिविरुद्ध प्रगतिशील गठबन्धन गरिएको भन्दै पौडेलले गठबन्धनको विषयमा द्विविधामा नरहन कार्यकर्तालाई आग्रह गरेका छन् । उनले भने, ‘कांग्रेससँग भएको जनमतलाई ध्यानमा राखेर गठबन्धन गरिएको हुँदा गठबन्धनले कांग्रेसलाई फाइदा पुग्ने छ ।’
यस्तै, नेता पौडेलले अझै धेरै कुरा गर्न बाँकी रहेको भन्दै मजदुरले अधिकार नपाएको समेत चर्चा गरे । उनले भने, ‘अझै शोषितपीडित जनताले आहात भोग्दै आएका, श्रम गर्ने मानिसहरुको श्रमको सम्मान, श्रम गर्ने मानिसहरुको अधिकारको सम्मान, श्रम गर्ने मानिसलाई मर्यादा दिने संस्कार, सभ्यता अझै हामीले बसाउन सकेका छैनौं ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्