अवैध रुपमा सञ्चालित कञ्चनपुरका तीन क्रसर उद्योग बन्द

अवैध रुपमा सञ्चालन गरिएको पाईएपछि क्रसरको विद्युत लाईन काटियो

महेन्द्रनगर । कञ्चनपुरमा अवैध रुपमा सञ्चालनमा रहेका तीन वटा क्रसर उद्योगहरु बन्द गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझाव अनुसार जिल्ला अनुगमन समितिले क्रसर उद्योगको विद्युत लाइन काटेर बन्द गराएको हो ।

जिल्ला अनुगमन समितिले बेदकोट नगरपालिकामा रहेको बेदकोट निर्माण सामग्री केन्द्र, दोधारा चाँदनी नगरपालिकामा रहेको बासुलिंग कन्सट्रक्सन केन्द्र र कृष्णपुर नगरपालिकामा रहेको महाकाली गौरव बिल्डर्सले सञ्चालन गरेको क्रसर उद्योगको विद्युत लाइन काट्नुका साथै राजश्व हिनामिना भएको विषयमा छानबिन गर्न निर्देशन दिएको छ ।

दोधारा, चाँदनी र कृष्णपुर नगरपालिकामा रहेका क्रसर उद्योग सडक आयोजनाका लागि स्थापना भएका हुन् । तर आयोजना सकिँदा पनि क्रसर बन्द नभएको र अवैध रुपमा क्रसिङ सँगै बिक्री भइहरेको पाइएपछि आवश्यक कारबाही प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए ।
उनका अनुसार क्रसर उद्योगले राजश्व हिनामिना गरेको विषयमा पनि आन्तरिक राजश्व कार्यालयबाट छानबिनका लागि सम्बन्धित पालिकालाई पत्र पठाइएको छ । बेदकोट नगरपालिकामा सञ्चालित उद्योगको बालुवा धुने मात्रै अनुमति छ । तर उक्त उद्योगले बालुवा धुने भन्दा पनि क्रसिङको कामसमेत गरिरहेकाले कारबाही गरिएको प्रजिअ पाण्डेयले बताए ।
विद्युत लाइन काटिएका तीनै उद्योगका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । अख्तियारले छानबिनका लागि जिल्ला अनुगमन समितिलाई सुझाव दिएको हो

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्