स्थानीय निर्वाचनपछि इन्धनको मूल्य बढाउने तयारी

काठमाडौं । हिजो आज आयल निगमले इन्धनको मूल्य बढाएको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर भारतीय आयल कर्पोरेसन (आईओसीले) नयाँ मूल्य सूचि पठाए पनि निगमले २२ चैतदेखि मूल्यवृद्धि गरेको छैन ।
आईओसीले पठाएको नयाँ मूल्यसूचीका आधारमा हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको निगमले हाललाई स्वचालित मूल्य प्रणाली रोकेको छ । ३० वैशाखको स्थानीय निर्वाचनपछि भने स्वचालित मूल्य प्रणालीलाई नै निरन्तरता दिने निगमको तयारी छ ।

‘प्रधानमन्त्री र अर्थमन्त्रीले अगाडि बढ्न भनिसक्नुभयो । हामी जेठ पहिलो साताबाटै डिजेल पेट्रोल परल मूल्यमै बिक्रीमा जान्छौं,’ निगम स्रोतले भन्यो । पेट्रोलको उपभोक्ता खुद्रा बिक्री मूल्य स्वचालित बनाइए प्रतिलिटर १८३ रुपैयाँ भन्दा धेरै पुग्न सक्छ ।

१८ वैशाखमा प्राप्त आईओसीको नयाँ बिक्री मूल्य अनुसार नेपालमा पेट्रोलको लागत मूल्य १८३ रुपैयाँ २ पैसा र डिजेलको १८३ रुपैयाँ १३ पैसा छ । निगमले अहिले पेट्रोल प्रतिलिटर १६० र डिजेल प्रतिलिटर १४३ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

हालको बिक्री मूल्यलाई परल मूल्यमा लगिए पेट्रोलको मूल्य लिटरमा २३ रुपैयाँ २ पैसा र डिजेलको मूल्य ४० रुपैयाँ १३ पैसा प्रतिलिटर एकै पटकमा वृद्धि हुने अवस्था छ । खाना पकाउने ग्यास र हवाइ इन्धन तथा मट्टितेलको मूल्यमा भने स्वचालित प्रणाली तत्काल लागू नहुने निगम स्रोतको भनाइ छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्