नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरेको
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो, मस्कट सार्वजनिक गरेका हुन् ।
गन्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं खेलकुदमा कस्तुरी मृगको मस्कट रहने भएको छ ।
लोगोको शीर्ष स्थानमा पोखराको पहिचानका रुपमा माछापुछ्रे हिमाल राखिएको छ । त्यसमुनि चारवटा रातो ट्र्याकले प्रदेश नम्बर संकेत गर्छ भने त्यसमुनि पंक्षीको आकृति दिइएको छ ।
कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको लोगो र मस्कट राष्ट्रिय खेलकुदका लागि छनोट भएको हो ।
गत वैशाख ४ गते राखेपले नवौंका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गरी पेस गर्न पुरस्कारको व्यवस्थासहित सार्वजनिक सूचना जारी गरेको थियो ।
सूचनाअनुसार लोगोका लागि १३ र मस्कटका लागि चार आवेदन परेको थियो । लोगोमध्येबाट भोलाको कला छनोट भए पनि मस्कटमा चारै आवेदनले मापदण्ड पूरा नगरेपछि भोलालाई नै बनाउने जिम्मा दिइएको राखेपले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । यो नारा खुला प्रतिस्पर्धाबाट शुयोग्यराज काफ्लेले जुराएका हुन् ।
लोगो र मस्कट बनाउनेले क्रमसः ५० र २५ हजार तथा नारा बनाउनेले १० हजार पुरस्कार पाएका छन् ।
राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि गीत पेस गर्न पनि सूचना जारी गरेकोमा एउटामात्र आवेदन परेको तर त्यस गीत प्रतियोगिताका लागि सुहाउँदो नभएकोले पारित नगरिएको जनाएको छ ।
प्रतियोगिता सुरु हुन २८ दिन बाँकी रहँदा तयारी धमाधम भइरहेको छ । निर्देशिका र बजेट आइनसके पनि प्रतियोगितामा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गर्ने निर्णयसहित प्रदेश र विभागीय टोलीहरुले टिम छनोट गरिरहेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्