महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मतगणना स्थगित भएको छ। कृष्णपुर नगरपालिका ९ को पञ्चाधिन माध्यामिक विद्यालयको बुथ केन्द्रको मतगणना हुँदा खसेको मत भन्दा बढी मत गणना गर्दै नतिजा सार्वजनिक भएपछि नेकपा एमाले र माओवादी केन्द्रले विरोध गरेका हुन्।
पञ्चाधिन बुथ केन्द्रमा १ हजार ९ सय १४ मत खसेकोमा २ हजार ६४ मत गणना भएको भन्दै नतिजा प्रकाशित गरिएको थियो। कृष्णपुर नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रबहादुर बुढाले कम्पुटरमा डाटा इन्ट्री गर्दा गल्ती भएको जानकारी दिए। ‘विवादपछि पुनः मत गणना गर्दा मुचुल्कामा उल्लेख भए अनुसारको मतपत्र पाइएको छ,’ बुढाले भने,‘ कम्प्युटरमा तथ्यांक इन्ट्री गल्ती भएको थियो। अहिले हामी छलफलमा छौँ।’
नेकपा एमालेले भने धादली भएको भन्दै पुनः मतदान हुनु पर्ने माग गरेको छ।
तर, प्रमुख निर्वाचन अधिकृत बुढा खसेकोे भन्दा बढी मत नभेटिएको र रेकर्ड राख्दा त्रुटी भएको भन्दै मतगणना सुचारु हुने बताउँछन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणम अनुसार नेकपा एमालेका मेयर उम्मेदवारले ५ सय २९, नेपाली कांग्रेसका मेयर उम्मेदवारले ८ सय ९८ र माओवादी केन्द्रका उम्मेदवारले ४ सय ७९ मत पाएका छन्। यस्तै वडा अध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार एमाले भन्दा ३ सय २४ मतले अगाडी देखिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले तथ्यांक रेकर्ड राख्दा भएको त्रुटी सच्चाएर मतपरिणाम सार्वजनिक गर्दा समेत नेकपा एमाले र माओवादी केन्द्रले विवाद गरेपछि मतगणना अगाडी बढ्न सकेको छैन्। नेकपा एमाले र माओवादी केन्द्रले पुनः मतदान हुनु पर्ने माग राख्दै आएका छन्।