वेदकोटमा एमालेको गढ भत्काउँदै कांग्रेसको ‘कमब्याक’

मेयरमा बोहरा, उप मेयरमा जोशी निर्वाचित

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपालीका कांग्रेसले एमालेको गढ भत्काउँदै मेयर र उप-मेयरमा बाजी मारेको छ ।
२०७४ सालमा एक वडामा मात्रै जितेको कांग्रेसले यसपटक मेयर उपमेयर सहित ५ वडामा विजयी भएको छ । अघिल्लो निर्वाचनमा ८ वटासहित मेयर र उपमेयर जितेको एमाले अहिले २ वडामा खुम्चिएको छ ।
यस्तै गत निर्वाचनमा एक वडा मात्रै जितेको नेकपा माओवादी केन्द्रले यसपटक २ वडामा जित निकालेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले पनि वेदकोटको १ वडामा जित हासिल गरेको छ ।
नेपाली कांग्रेसका भोजराज बोहरा र तुलशी जोशी दोस्रो प्रयासमा मेयर र उपमेयर बन्न सफल भएका छन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन र नेकपा एमालेलाई उछिन्दै कांग्रेसका भोजराज बोहरा मेयर र तुलशी जोशी उपमेयरमा निर्वाचित भएका छन् ।
यसअघि ०७४ सालको निर्वाचनमा बोहरा र जोशी एमालेका असोक चन्द र सुशिला सिंहसंग पराजित भएका थिए ।
मेयरमा निर्वाचित बोहराले ८ हजार ७८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुसिला सिंह ४ हजार ७४० मतमा रोकिइन् ।
माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्म्ेदवार समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र राप्रपाका बमबहादुर बलले १ हजार ७५१ मत ल्याए ।
उपमेयरमा नेपाली कांग्रेसकी तुलशी जोशी ७ हजार २५४ मत सहित विजयी भइन् । उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५ हजार ७२७ मत प्राप्त गरिन् । गठबन्धनबाट माओवादीकी हिरा जैसीले ३ हजार ६५२ मत प्राप्त गरिन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्