महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा एमालेका रण बहादुर महरा निर्वातित भएका छन् । २०७४ को स्थानीय निर्वाचनका नतिजा उल्ट्याउँदै महराले यस पटक मेयरमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार महरा ६ हजार ७७३ मत सहित मेयरमा निर्वाचित भएका छन् । उनले कांग्रेसका चिन्तामणी भट्टलाई ५०९ मतान्तरले उछिन्दै शुक्लाफाँटाको मेयरमा विजय हात पारेका छन् ।
उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका दिलबहादुर ऐरसंग १ हजार ३ मतले पराजित भएका थिए ।
यसपटक दोस्रो प्रयासमा महराका प्रतिस्पर्धी कांग्रेसका भट्टले ६ हजार २६४ मत ल्याए । यस्तै, माओवादी र एकीकृुत समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका माओवादीका नवराज ऐर ५ हजार २२५ मतमा रोकिए ।
शुक्लाफाँटा नगरपालिकामा ०७४ को नजिता उल्टिएको छ । ०७४ मा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो । यसपटक मेयरमा एमालेले बाजी मा¥यो भने उपमेयरमा कांग्रेसले जित हासिल गरेको छ ।
उपमेयरमा कांग्रेसकी कल्पना जोशी ६ हजार ५१९ मत सहित विजयी भइन् । उनका प्रतिस्पर्धी माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मदेवार बनेका समाजवादीका माधवप्रसाद पन्तले ५ हजार ३६० मत ल्याए ।
यस्तै, एमालेकी मोनिका भट्ट ५ हजार २३६ मत सहित तेस्रो स्थानमा रहिन् । वडामा पनि ०७४ नतिजा उल्टिएको छ ।
त्यसबेला उपमेयर जितेको एमालेले शुक्लाफाँटामा १२ वडामध्ये ५ वडामा जित निकालेको थियो । मेयर जितेको कांग्रेसले ३ वडा मात्रै जितेको थियो ।
यसपटक मेयर गुमाएको छ भने वडामा वर्चश्व बढाएको छ । कांग्रेसले १२ मध्ये ६ वडामा बाजी मारेको छ ।
यस्तै, नेकपा एमालेले यसपटक ३ वडामा मात्रै जित निकाल्न सकेको छ । मेयर जिते पनि एमालेले २ वडा गुमाएको छ । एमालेले यसपटक ३ वडामा जित निकालेको छ ।
यस्तै, माओवादीको वर्चश्व झनै घटेको छ । ०७४ सालमा ४ वडामा जित निकालेको माओवादी यसपटक २ वडामा खुम्चिएको छ । शुक्लाफाँटामा एकीकृत समाजवादीले एक वडामा जित निकालेको छ ।