योजना तर्जुमा गर्न छलफल, बजेट सिलिङ घटाईएकोमा वडावासीको आपत्ति

विपन्न मजदुर परिवारलाई निशुल्क खानेपानीको धारा उपलब्ध गराउने वडाको निर्णय

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ ले अगामी आर्थिक वर्षका योजनाबारे स्थानीयसँग छलफल गरेको छ । बिहिबार वडा कार्यालयले आर्थिक वर्ष २०७९\८० को बजेटका लागि टोल विकास संस्थाहरुसँग अन्तरक्रिया तथा छलफल गरेको हो । कार्यक्रममा वडाका जनप्रतिनिधि, निर्वतमान जनप्रतिनिधि, स्थानीय नेता तथा टोल विकास संस्थाका पदाधिकारीको सहभागीता रहेको थियो ।

६३ वटा टोल रहेको यस वडामा संस्थाका पदाधिकारीले टोलका योजना तथा समस्याबारे वडालाई जानकारी गराएका थिए । कार्यक्रममा सहभागीले ढल निकास, सौर्य बक्ति जडान, फोहोरमैला व्यवस्थापन, सडक ग्राभेल तथा कालोपत्रे निर्माण लगायतका मागहरु अघि सारेका छन् । भने नगरपालिकाले वडाको बजेट सिलिङ घटाएकोमा स्थानीयले आपत्ति समेत जनाएका छन् ।
स्थानीय हरिहर पाण्डेयले नगरपालिकाकै ठुलो वडा भएकाले विकासका लागि प्राथमिकतामा पर्नुपर्ने बताए । उनले नगरपालिकाले वडाको बजेट सिलिङ घटाएको आपत्ति जनाउँदै नगरकै बढी जनसंङख्या, मतदाता र विशिष्ठ किसिमको बसोवास रहेकोले बजेटमा उच्च प्राथमिकता दिनुपर्ने बताए ।


त्यस्तै मिलन टोलकी कविता नेपालीले सार्वजनिक खानेपानी धारा जडान, ढल निकास, फोहोरमैला व्यवस्थापन, सौर्य बक्ति जडान लगायतका मागहरु अघि सारिन् । साथै अगामी आर्थिक वर्षको बजेट सिलिङ घटाएको विषयमा उनले पनि नगरपालिकाप्रति आपत्ति जनाईन् ।
चालु आर्थिक वर्षमा एक करोड ४९ लाख बजेट रहेको यस वडामा अगामी आर्थिक वर्षमा बजेट घटाएर एक करोड २७ लाखको सिलिङ पठाईएको वडा कार्यालयले जनाएको छ । त्यस्तै स्थानीय हेमराज भट्टले टोलमा नाला निर्माण, सडक ग्राभेल, स्वास्थ्य केन्द्र सेवा सुरु गर्नुपर्ने लगायतका माग राखे ।

अर्की स्थानीय मञ्जु गिरीले युवा स्वरोजगार, उद्यम विकास, ढल निकास गर्नु पर्ने लगायतका माग राखिन् ।
कार्यक्रममा स्थानीय अगुवाहरुले महेन्द्रनगर पार्क व्यवस्थापन, लागु औषध नियतन्त्रण, सामाजिक विकासका लागि पहल गर्न वडालाई माग गरेका छन् । साथै टोल विकास संस्थाका पदाधिकारीसहितको स्थानीयसँग योजना तर्जुमाबारे छलफल गरेको स्थानीयले वडालाई धन्यवाद दिदैँ प्रशंसा गरेका छन् । साथै उनीहरुले योजना कार्यान्वयनमा जोड दिन पनि आग्रह गरेका छन् ।

वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटाले अगामी आर्थिक वर्षको योजना तर्जुमाका लागि टोल विकास संस्थाहरुसँग छलफल गरिएको बताए । वडाको सम्रग विकासका लागि योजनावद्ध तरिकाले जाने हाम्रो योजना छ,’ अध्यक्ष देवकोटाले भने ‘पहिलो चरणमा स्थानीयसँग छलफल गरि योजना माग गरेका छौँ, अन्तरक्रिया कार्यक्रममा सबै क्षेत्रको विकासको अवस्थाबारे र समस्याबारे जानकारी आएको छ, यसलाई प्राथमिकताका आधारमा कार्यान्वयनको चरण लग्छौँ ।’

वडा कार्यायलले जनताका आधारभुत समस्यालाई मुख्य प्राथमिकतासहित विकास निर्माण कार्यलाई अघि बढाउने प्रतिवद्धता जनाएको छ । विपन्न मजदुर परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय गरेको यस वडाले अगामी आर्थिक वर्षमा विपन्न मजदुर परिवारलाई निशुल्क रुपमा खानेपानीको धारा उपलब्ध गराउने निर्णय समेत गरेको छ । पहिलो चरणमा सामुहिक रुपमा धारा जडान गरि निशुल्क खानेपानी उपलब्ध गराईने वडाध्यक्ष देवकोटाको भनाई छ ।

त्यस्तै अगामी आर्थिक वर्षका लागि वडाको बजेट सिलिङ घटाईएकोप्रति पनि उनले गुनासो पोखे । ‘नगरकै सबै भन्दा बढी जनसंख्या र मतदाता भएको यस वडामा बजेटमा विभेद गरिएको देखियो ।’ वडाध्यक्ष देवकोटाले भने ‘स्थानीय सरकार सबैको साझा हो, पालिकालाई सबै भन्दा बढी राजस्व तिर्नेमध्येमा यो वडामा पनि पर्छ तर वर्षेनी बढ्नु पर्ने बजेट यस पटक सिलिङ घटेर आएको छ ।’

नेपाली कांग्रेसको नेतृत्व रहेको भीमदत्त नगरपालिकामा देवकोटा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएको हुन् । बजेट सिलिङ घटाएको वडाको विकासमा अवरोध र वडावासिमाथि पालिकाले घात गरेको उनको आरोप छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्