कञ्चनपुर उद्योग वाणिज्य संघः अध्यक्षसहित ३ पदका लागि मात्रै चुनाव हुने

चार पदाधिकारी र आठ सदस्य निर्विरोध निर्वाचित
महेन्द्रनगर । आसन्न कञ्चनपुर उद्योग वाणिज्य संघ कार्यकारणी समितिको निर्वाचनमा तीन पदका लागि मात्रै चुनाव हुने भएको छ । अधिकांश पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएपछि अध्यक्षसहितका तीन पदका लागि मात्रै चुनाव हुने भएको हो । पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष, सचिव र कोषाध्यक्ष र उद्योग उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि अध्यक्ष, महासचिव र वाणिज्य उपाध्यक्ष पदका लागि मात्रै चुनाव हुने निश्चत भएको हो ।
कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्टले १७ औँ कार्यकारणी समितिको निर्वाचनका लागि अधिकांश पदाधिकारीमा सर्वसम्मत भएपछि तीन पदका लागि मात्रै निर्वाचन हुने बताए । उनका अनुुसार संघको अध्यक्ष पदका लागि गणेश जोशी र पिताम्बर जोशीको उम्मेदवारी परेको छ ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा विनोद जोशी र धर्म सिंह रावल तथा महासचिवमा खगेश्वर बोहरा र निर्मला भट्ट सापकोटाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदका लागि गणेश दत्त जोशी र पिताम्बर जोशी बिच सहमतीको प्रयास भएपनि सहमति जुटेन । गणेश वाणिज्य संघका पुर्व अध्यक्ष हुन् भने पिताम्बर संघका निर्वतमान वरिष्ठ उपाध्यक्ष हुन् । करिब तीन हजार बढी मतदाता रहेको वाणिज्य संघको निर्वाचन असार २५ गते हुदैँछ ।

चार पदाधिकारीदेखि सदस्यसम्म निर्विरोध निर्वाचित

१७ औँ कार्यकारणी समितिका लागि चार पदाधिकारी र आठ सदस्य निर्विरोध निर्वाचित भईसकेका छन् । वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी दिनेश मल्ल निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा मल्ल र मदन पन्तको उम्मेदवारी परेकोमा पन्तले फिर्ता लिएपछि मल्ल निर्विरोध चयन भएका हुन् ।
त्यस्तै वाणिज्य संघको सचिवमा राहुल भट्ट निर्विरोध निर्वाचित भएका छन् । सचिव पदका लागि उम्मेदवारी दिएका करन पालले उम्मेदवारी फिर्ता लिएपछि भट्ट निर्विरोध निर्वाचित भएका हुन् । वाणिज्य संघको उद्योग उपाध्यक्षमा सुरेश गुरुङ र कोषाध्यक्षमा चेतराज जोशी पनि निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै संघको सदस्यमा बुधवार भएको दाबि विरोधमा १४ जनाको उम्मेदवारी रद्द भएसँगै ७ जना निर्विरोध निर्वाचित भएका थिए । वाणिज्य संघको प्रावधानअनुसार सदस्यमा उम्मेदवार बन्न अन्तिम साधारण सभामा हाजिर हुनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार अन्तिम साधारण सभामा उपस्थित भएका ७ जना बाहेक अन्य सदस्य पदका उम्मेदवारको उम्मेदवारी रद्द भएको हो । सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएको थिए ।
वाणिज्य संघको सदस्यमा विशाल सोनार, प्रेम प्रकाश पाठक, भोजराज अवस्थी, मीनराज भट्ट, नरेन्द्रप्रसाद जोशी, गोपाल बुढा पाल, प्रदीप पाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै संस्थागत सदस्य(प्रतिनिधि)तर्फ औषधि व्यवसायी संघका प्रतिनिधि रामचन्द्र बुढा पनि निर्वाचित भइसकेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्