महेन्द्रनगर । कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्दले अगामी संघिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन् । बुधबार महेन्द्रनगर आयोजित नागरिक अगुवाहरुसँगको छलफल कार्यक्रममा उनले यस्तो घोषणा गरेकी हुन् ।
लामो समयदेखि महिला हक अधिकारका सवालमा वकालत गर्दै आएकी अधिकारकर्मी चन्दले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा गरेकी हुन् । स्वतन्त्र उम्मेदवारीका लागि उनले आन्तरिक तयारी र छलफल थालेको बताईन् ।
नागरिक समाजका अगुवाहरुसँगको छलफल कार्यक्रममा आफुले यस क्षेत्रको विकास र सामाजिक न्यायका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको बताईन् । त्यसका लागि नागरिक समाजबाट पनि आवश्यक सहयोगका लागि चन्दले अपेक्षा राखिन् ।
नेपाली कांग्रेस निकट मानिने अधिकारकर्मी चन्दले पार्टीको क्रियाशिल सदस्यता त्याग्ने पनि बताएकी छिन् । आउँदो साउन २ गते उनले कांग्रेसको पार्टी सदस्यता त्यागेर औपचारिक रुपमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने बताईन् ।
कञ्चनपुर–३ मा अघिल्लो निर्वाचनमा नेकपा एमालेका डा. दिपक प्रकास भट्टले कांग्रेस नेता रमेश लेखकलाई पराजित गरेका थिए । नेता लेखकले चुनाव लड्दैँ आएको यस क्षेत्रमा अधिकारकर्मी चन्दले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि कांग्रेस वृत्तमा तरङ्ग पैदा भएको छ ।
साथै अधिकारकर्मी चन्दले आफ्नो निर्णयबाट कुनै पनि सर्तमा पछि नह्ने समेत दावि गरेकी छिन् । ‘मैले पार्टीले टिकट दिएन् भनेर स्वतन्त्र उम्मेदवारी दिन लागेकी होईन् ।’ उनले देशपाटीसँग भनिन् ‘जुन सुकै पार्टी सरकारमा आएपनि जनताका समस्या समाधान भएन्, सामाजिक न्यायको स्थापना र नागरिकको अधिकारको सुरक्षाका लागि म अघि बढेकी छु ।, यो निर्णयबाट कुनै सर्तमा ब्याक हुदैँन् ।’
चन्द महिला अधिकारकर्मीसँगै जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरि वृद्धवृद्धाहरुको सेवा पनि सक्रिय छिन् । छलफल कार्यक्रममा स्वतन्त्र उम्मेदवारी दिए आफुहरुले सक्दो सहयोग गर्ने नागरिक समाजका अगुवाहरुको भनाई थियो ।