भक्तपुर । भक्तपुरको सल्लाघारीमा रूख ढलेर बस र स्कुटर किचिंदा तीन जनाको मृत्यु भएको भने १२ जना घाइते भएका छन्। सल्लाघारीमा बाटोमाथिको रूख एक्कासि ढलेर बाटोमा आउँदा सडकमा गुडिरहेको बस र स्कूटरलाई किचेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए। काठमाडौंबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा.२ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा.६१ प ३९६८ नम्बरको स्कूटर किचिएको उनले बताए।
दुर्घटनामा बसमा सवार दुई र स्कूटरमा सवार एक जनाको मृत्यु भएको पाण्डेले बताए। बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन्। अन्य दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते १२ जनाको इवामुरा अस्पताल सल्लाघारी, मध्यपुर अस्पताल थिमि र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइरहेको छ। दिउँसो हावा चल्दा रूख ढलेको पाण्डेले बताए। सडकबाट रूख पन्छाएर यातायात सञ्चालन गर्ने काम भइरहेको उनले बताए।