झापा । झापाको कचनकवल गाउँपालिका– ५ पाठामारीमा तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । सुनकोशी चिया बगाननजिकै झिङ खोलाको किनारमा रहेको बयरको रुखमा झुण्डिएको अवस्थामा उनीहरू फेला परेको गाउँपालिकाका उपाध्यक्ष नवराज भटटराईले बताए । उनका अनुसार मृत भेटिएका किशोरीहरूमा पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षीया छोरी कल्पना छन् ।
हिजो दिउँसोदेखि हराएका उनीहरू आज बिहान ७ः३० बजे झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । ’दुईजना एउटै हाँगामा र एकजना अर्को हाँगामा झुण्डिएका थिए’, भटटराईले शिलापत्रसित भने, ’एक जना गाई बाँध्ने दाम्लो, अरू २ जनाले प्लास्टिकको डोरी र गम्छामा पासो लागेको देखियो ।’
तीनैजना किशोरीहरू चिया बगानमा काम गर्दै आएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा आइपुगेको भटटराईले बताए ।