को हुन् झुण्डिएर मृत भेटिएका तीन किशोरी ?

झापा । झापा कचनकवल गाउँपालिका वडा नम्बर ५, पाठामारीको सुनकोशी चिया बगाननजिकै छ झिङ खोला । त्यसको किनारमा लहरै छन् बयरका रुख । खोलातिर निहुरिएको एउटा बयरबोटमा लहरै झुण्डिएको अवस्थामा आज बिहान तीन किशोरी मृत भेटिए । पासो लागेको अवस्थामा १६ वर्षीया करिना, १७ वर्षीया अन्जली र १६ वर्षीया कल्पना फेला परेका हुन् । यीमध्ये करिना स्थानीय पञ्चम गणेशकी छोरी हुन् । पुवालु गणेशकी छोरी अञ्जली हुन् भने कल्पना वीरवल गणेशकी छोरी हुन् ।
उनीहरू निम्न आय भएका परिवारका छोरी भएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । त्यसैले पढाइ छोडेर उनीहरू त्यही चिया बगानमा काम गर्दै आएका थिए । ’बेल गाउँ नेपाल र भारत सीमानजिकैको गाउँ हो । यो गाउँ नेपालतिर पनि पर्छ, भारततिर पनि पर्छ । मृतकहरू नेपाली नै हुन्’, भट्टराईले भने, ’हिजो दिउँसो १२ बजे चिया बगानछेउकै पसलबाट कोक र बिस्कुट लिएर खाएका रहेछन् ।’
त्यसपछि उनीहरू गाउँमा देखिएका थिएनन् । तर आज बिहान चिया टिप्न गएका श्रमिकहरूले तीनै जनालाई पासो लागेको अवस्थामा देखेका थिए । ’लगत्तै उनीहरूले मलाई खबर गरे’, भट्टराईले भने । बयरको रुखमा लहरै झुण्डिएका उनीहरू फरक–फरक हाँगा र डोरीमा पासो लागेका छन् । दुई जना एउटै हाँगामा झुण्डिएका छन् । तीमध्ये एक जना सनपाटको दाम्लोमा पासो लागेकी छन् । एक जना प्लास्टिकको डोरी र अर्की गमछामा झुण्डिएकी थिइन् ।

उनीहरूको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले बताए । पासोबाट निकालेर तीनै जनाको शव पोस्टमर्टमका लागि चन्द्रगढी पठाइएको छ । ’उनीहरूले सामूहिक आत्महत्या गरेकोजस्तो देखिन्छ यद्यपि, हामी थप अनुसन्धान गर्दैछौँ । आत्महत्या नै भए पनि यसको कारण हुन्छ, यसबारे बुझुदैछौँ’, पाठकले भने ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्