धेरै पैसा खर्च गर्न नसके र तिक्डम नजाने चुनाव जित्न गाह्रो छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्न गाह्रो रहेको बताएका छन् ।
सोमवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अबको निर्वाचनबाट दलाल पूँजीपति, नोकरसाह पूँजीपति र भ्रष्टहरू मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरूमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रूपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब रूपैयाँमाथि हुने बताए । यो अवस्थामा श्रमजीवि जनता र क्रान्तिकारीहरूले चुनाव लडेर जितेर आउने कुरा सपनाझैं भएको उनको भनाई छ ।

साथै उनले अहिलेको देशको शासन प्रणाली र निर्वाचन प्रणाली देश अनुकूल नभएको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्