महेन्द्रनगर । विषद व्यवस्थापन समिति गठन कार्य विधिबारे कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा गोष्ठी आयोजना गरिएको छ । आईतबार दोधरा चाँदनी नगरपालिकामा निड्स नेपालले उक्त गोष्ठी आयोजना गरेको हो । मर्सिकोरसँगको साझेदारी सञ्चालित सामुदायको बाढी उत्थानशिलता मापन कार्यक्रम अन्तरगत निड्सले विपद् व्यवस्थापन समिति गठनका लागि आवश्यक कार्यविधि र सञ्चालनबारे जानकारी दिन गोष्ठी आयोजना गरेको जनाएको छ ।
निड्स नेपालका कार्यक्रम संयोजक नविन भट्टले विपद् व्यवस्थापनका लागि सामुदायलाई सक्रिय बनाउन गोष्ठी आयोजना गरिएको बताए । उनका अनुसार ती समितिले नगरपालिकाको विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर काम गर्ने छन् । विपद्को उच्च जोखिम रहेका सामुदायलाई विपद्को जोखिम न्युनिकरणसँगै व्यवस्थापनबारे पनि निड्सले सहयोग गर्दै आएको उनले बताए । सामुदायको बाढी उत्थानशिलता मापन कार्यक्रम दोधरा चाँदनीको वडा नम्बर ३, ७ र १० मा सञ्चालित छ । निड्सले समुदायमा खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदल र पुर्व सुचना प्रणाली कार्यदल समेत गठन गरेको छ ।
कार्यक्रमा दोधरा चाँदनीका नगर प्रमुख किशार कुमार लिम्बु, कर्मचारी लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । नगरपालिकाका विपद् व्यवस्थापन फोकल प्रर्सन रघुनाथ भट्टले विषयवस्तुबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमले नगरपालिकालाई विपद् व्यवस्थापन कार्यविधि निर्माण तथा योजना छनौटमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै निड्सले कोरोना खोप लगाउन छुटेकालाई खोप दिन पनि छलफल थालेको छ । जिआईजेडको सहयोगमा दोधरा चाँदनी नगरपालिकामा कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि आईतबार पालिकासँग पहिलो बैठक आयोजना गरिएको हो ।