महेन्द्रनगर । स्थानीय तहको निर्वाचनपछि नेकपा एमाले पुनर्वास नगर कमिटिको पहिलो बैठक सम्पन्न भएको छ । सोमबार नगर कमिटिको छैटौँ पुर्ण बैठक सम्पन्न भएको हो ।
नगर कमिटि अध्यक्ष पदम पुजराले स्थानीय निर्वाचनपछि बसेको नगर कमिटि बैठकले आशन्न संघ र प्रदेशको निर्वाचन केन्द्रीत हुने निर्णय गरेको बताए । उनका अनुसार आम निर्वाचनको तयारीका लागि एकतावद्ध भएर लाग्ने निर्णय गरिएको बैठकले गरेको छ ।
त्यस्तै नगर कमिटिले पार्टी सदस्यता नविकरण र वडा–वडा पार्टीका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । प्रशिक्षणात्मक बैठकमा नेकपा एमाले पोलिट व्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरुदेवी पाल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामचन्द्र नेपाल, भक्त बहादुर अधिकारी, प्रदेश कमिटि सदस्यहरु, एमाले जिल्ला कमिटि अध्यक्ष सुरेन्द्र विष्टलगायतका नेताहरुको सहभागीता रहेको थियो ।
बैठकमा बोल्दैँ कञ्चनपुर ईन्चार्ज पालले आत्म समिक्षासहित एकतावद्ध भएर आम निर्वाचनको तयारी लाग्न निर्देशन दिईन् । उनले परमादेशी गठबन्धन सरकार राष्ट्रघाति र जन विरोधि भएकोेले दावि गर्दै आम निर्वाचनको तयारी लाग्न निर्देशन दिएकी हुन् ।
त्यस्तै केन्द्रीय सल्लाहकार परिषद् सदस्य अधिकारीले पुनर्वासमा स्थानिय निर्वाचनमा एमाले पराजित भएपनि आम निर्वाचनमा जित्नै पर्ने बताए । उनले पालिकामा पार्टीको विरासत फर्कान उत्साहका साथ पार्टीको काममा लाग्न नेता कार्यकर्ता निर्देशन दिए ।
त्यस्तै पार्टी अध्यक्ष सुरेन्द्र विष्टले पनि आम निर्वाचनमा एमालेको एकल बहुमतसहितको सरकार निर्माणका लागि सबै नेता कार्यकर्ता परिचालित हुन आग्रह गरे । उनले जिल्ला कमिटिले निर्वाचन केन्द्रीत प्रशिक्षण, घर फर्क अभियान र पार्टी प्रवेशका कार्यक्रम गरिरहेको बताउँदै सबैलाई एकतावद्ध भएर जिम्मेवारी बहन गर्न अह्वान गरे ।
