एमालेमा नयाँ अनुहारलाई प्राथमिकता

काठमाडौ । पाँच दलीय सत्ता गठबन्धनसँग चुनाव लड्ने तयारीमा रहेको नेकपा (एमाले)ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नयाँ अनुहारलाई प्राथमिकता दिने भएको छ।
मंसीर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनबीच तालमेल हुने निश्चितप्रायः भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि आफ्नो चुनावी रणनीति तय गरेको छ। दुई ठूला राजनीतिक दल सहितको पाँच दल त्यसमाथि पनि सत्ता गठबन्धनसँग चुनाव लड्नुपर्ने भएकाले एमालेले आन्तरिक तयारी तीव्र पारेको हो।
एमालेको चुनाव चिह्न लिएर सहकार्य गर्न चाहने पार्टीलाई स्वागत गर्ने रणनीति लिएको छ। यो निर्वाचनमा एमालेले हाम्रालाई भन्दा पनि राम्रा उम्मेदवारलाई प्राथमिकता दिने तयारी गरेको छ। खास गरी जनतामाझ लोकप्रिय र चुनाव जित्ने आधार बलिया भएका उम्मेदवारलाई टिकट दिने एमालेको तयारी छ।
एमालेका केही पुराना नेताहरू संसदीय राजनीतिबाट टाढिंदै गर्दा नयाँ पुस्ताहरू पनि यो निर्वाचनबाट प्रत्यक्ष चुनावमा सहभागी हुँदै छन्। २०६३ सालमा एमाले निकट अनेरास्ववियूको अध्यक्ष बनेका ठाकुर गैरे पाल्पा क्षेत्र नम्बर २ बाट एकल सिफारिशमा परेका छन्। राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव जमाए पनि गैरेले अहिलेसम्म चुनाव लड्ने अवसर पाएका थिएनन्। त्यस क्षेत्रबाट यसअघि सोमप्रसाद पाण्डेले चुनाव लड्दै आएका थिए। तर‚ एमाले विभाजनसँगै पाण्डे नेकपा (एकीकृत समाजवादी)तिर लागेपछि यो निर्वाचनमा एमालेबाट गैरे एकल सिफारिशमा परेका छन्।
अनेरास्ववियूकै पूर्व अध्यक्ष माधव ढुंगेल पनि प्रतिनिधि सभाका लागि रामेछापबाट सिफारिश भएका छन्। एक निर्वाचन क्षेत्र रहेको रामेछापबाट ढुंगेल सहित पाँच जनाको सिफारिश भएको छ। यसअघि पनि चुनाव लड्ने चाहना राखेका ढुंगेल अन्तिममा पहिलो पुस्ताका लागि भन्दै पछाडि हटेका थिए। जिल्लाबाट पाँच जनाको सिफारिश भए पनि यो निर्वाचनमा युवाको पालो भन्ने अभियान चलाएका कारणले ढुंगलले पाउने सम्भावना पनि रहेको छ।
एमाले पोलिटब्यूरो सदस्य सूर्य थापा प्यूठानबाट एकल सिफारिश भएका छन्। पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका थापा यो पटक प्यूठानबाट प्रत्यक्ष निर्वाचनको तयारीमा छन्। थापा एमाले प्यूठान इन्चार्ज समेत हुन्।
एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि सिफारिश भएका छन्। पत्रकारिता क्षेत्रबाट आएका रिजाल सहित यस क्षेत्रबाट पाँच जनाको नाम सिफारिश भएको छ। रिजालले यस पटक आफूले नै टिकट पाउने दाबी गर्छन्। २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा सिफारिश भएका रिजालको टिकट अन्तिम समयमा खोसिएको थियो।
एमाले केन्द्रीय सदस्य नीरज आचार्य जाजरकोटबाट सिफारिश भएका छन्। बुटवलमा भएको युवा संघको सम्मेलनमा अध्यक्षमा महेश बस्नेतसँग पराजित भएका आचार्य २०७४ सालको निर्वाचनमा प्रदेश सभाको टिकट पाए पनि अन्तिम समयमा उनको टिकट खोसिएको थियो। अनेरास्ववियूका पूर्व अध्यक्ष ऐन महर बझाङबाट सिफारिशमा परेका छन्। एमाले केन्द्रीय सदस्य समेत रहेका महर सहित तीन जनाको नाम सिफारिशमा परेको छ। दोलखाबाट रचना खड्काको नाम प्रतिनिधि सभामा सिफारिश भएको छ।

एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिना नुवाकोट क्षेत्र नम्बर २ ’ख’ बाट प्रदेश सभाका लागि सिफारिश भएकी छन्। उनी अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताउँछिन्। “अहिले युवाहरू अगाडि आइरहेका छौं‚ अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ। युवामा पनि प्रत्यक्षमा दाबी गर्ने महिला युवा एकदमै कम हुनुहुन्छ। दाबी गरेका जति सबै महिलालाई प्रत्यक्षमा अवसर दिनुपर्छ।”

आगामी निर्वाचनमा जति युवाहरूले प्रत्यक्ष चुनावमा होमिने आकांक्षा देखाएका छन्। यद्यपि‚ पुराना पुस्ताका नेताहरूले ‘लौ युवाहरू गरिखाओ’ भनेर ठाउँ खाली गरिदिएको अवस्था भने छैन। केही नेताहरूले भने अब चुनाव नलड्ने घोषणा गरेका छन्। बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, तनहुँका टुकराज सिग्देल र सुर्खेतका नवराज रावतले स्वस्फूर्त चुनाव नलड्ने घोषणा गरिसकेका छन्। तर‚ केही पूर्व सांसदहरू भने अहिले पनि रस्साकस्सी नै गरिरहेका छन्।

नयाँ थपिएका पाँच लाख मतदाताको मनोविज्ञान र राजनीतिमा देखिएका नयाँ दबाबका कारण पनि एमालेले युवा पुस्तालाई जोड दिनुपर्ने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल बताउँछन्।

“केही नेताहरूले स्वस्फूर्त म चुनाव लड्दिनँ, युवालाई अवसर दिन्छु भनेर घोषणा गर्नुभयो। यस्ता केही नेताहरू पनि हुनुहुन्छ पार्टीमा। तर‚ अहिलेको माहोल युवाहरूको देखिएको छ। स्थानीय चुनावमा पनि ४० प्रतिशत नयाँ जनप्रतिनिधिले जितेका छन्। जहाँ जहाँ हामीले नयाँलाई अवसर दियौं त्यहाँ नयाँले जितेको अवस्था छ,” रिजालले भने‚ “यी परिस्थितिले पनि यो चोटि पार्टीमा नयाँ पुस्तालाई प्राथमिकता दिनुपर्ने देखिन्छ। चुनावमा नयाँ मतदाता पाँच लाख थपिएका छन् र राजनीतिमा नयाँ नयाँ दबाबहरू थपिएका छन्। जसलाई थेग्नका लागि पनि हामीले नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने देखिन्छ।” । -हिमाल खबर

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्