सत्ता टिकाउन घृणित काम भए, चुच्चे नक्सा खोई ? : ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्शा गायब गरेको भन्दै आपत्ति जनाएका छन्। उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरु भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताए । वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्शाको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए ।
‘केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्शा लुकाएर बुच्चे नक्शा सार्वजनिक गरिँदैछ, यसप्रति खेद प्रकट गर्ने कि नगर्ने ? भन्दै प्रश्न समेत गरे । उनले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पु¥याउने काममा गठबन्धन लागिरहेको आरोप लगाए ।

दलको साँधसीमा राखेर होइन, राष्ट्रिय स्वाभिमानमाथि आघात पु¥याउने, आँच पु¥याउने कुरा हो । यसप्रति दुःख व्यक्त गर्नुपर्छ । यो कुनै पार्टी विशेष प्रचारको कुरा होइन, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा हो । मैले केही दिनअघि गठबन्धन सरकारका प्रधानमन्त्रीज्यूको फोटो टाँसेको यसको १०० दिनका कामहरु भनेर उल्लेख गरेको पुस्तिकामा प्रधानमन्त्री कार्यालयबाट प्रकाशित हुन्छ ।
त्यो चुच्चे नक्शा छैन, चुच्चे नक्शा मेटेर बुच्चे नक्शा बनाइएको छ । यसप्रति खेद व्यक्त गर्ने कि नगर्ने ? यस्ता कुराहरु जनताले बुझ्नुपर्छ । देशभक्ति, स्वाभिमानको कुरा गर्ने, गठबन्धन बनाउने तर यसको बारेमा चुँसम्म नबोल्ने, कुरा के हो यो ?’ उनले भने ।
पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताए ।
उनले अहिलेको गठबन्धन सरकारले सीमापारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए। उहाँले गठबन्धन सरकारले संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको भन्दै खेद प्रकट गरे।
उनले अहिलेको नागरिकता विधेयक राष्ट्रिय हीत, स्वाभिमान विपरित रहेको उल्लेख गर्दै नेपाललाई सिक्किम वा फिजी बनाउने कुरामा सरकारले काम गरिरहेको बताएका हुन। उनले सत्ता टिकाउने, सरकारमा बस्ने, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कामहरु गरिरहेको भन्दै निन्दा गर्नुपर्ने बताएका थिए ।
‘हाम्रो अडान आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ, जन्मेको बेला आमाबाबु अंगीकृत छन् भने सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ । तर अहिले सीमा पारीबाट विवाह गरेर आज ल्यायो, सिन्दुर हाल्यो, भोलिपल्ट नागरिकता दियो, पर्सि जननिर्वाचित प्रतिनिधि भयो, यो चिज उचित हुँदैन । संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको जो प्रतिवेदन हो, त्यो प्रतिवेदनलाई हटाएर अहिले नागरिकता प्रदान गर्नेकुरा खेद जनक छ, राष्ट्रिय हीत विपरित छ । नेपाललाई सिक्किम वा फिजी बनाउने कुरासित यसको साइनो सम्बन्ध छ । सत्ता टिकाउने, सरकारमा बस्ने नाममा, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कुराहरु भएको छ । जसको निन्दा गर्नुपर्दछ,’उनले भने।

ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी

पोखरेलले नेकपा एमालेले ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी गरेका छन्। उनले राष्ट्रिय विकास र समृद्धिको योजनमा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताए। रणनीतिक महत्वका सडकहरु ओलीको नेतृत्वमा शुरु भएको भन्दै अहिलेको सरकारले किन कटौती गरेको भन्ने प्रश्न गरे।
‘रणनीतिक महत्वका सडकहरु काम प्रारम्भ भएका थिए, किन कटौती गरियो ? ३०० भन्दा धेरै अस्पताल बनाउने कुराको प्रारम्भलाई किन अवरुद्ध गरियो ? जयसिंह धामीलाई तुइन काटेर हत्या गरियो, गठबन्धन सरकार चुँसम्म बोल्न सकेन ।
चुच्चे नक्शा मेटाउने अपराधपूर्ण काम गर्ने जोसुकै होस् ती पात्रहरुलाई हामी कहिल्यै स्वीकार गर्न सक्दैनौँ । दलहरुका कमजोरी छन्, जनताले फैसला गर्नेछन् । हामी केपी ओलीको नेतृत्वमा आगामी सरकार बनाउँछौँ । यो उद्घोष गरिसकेका छौँ । नक्कली कुरा गर्ने, अन्तर्राष्ट्रिय जगतमा ठगी गर्दै हिँड्ने, राष्ट्रिय राजनीतिमा अपराध गर्नेहरुलाई कहिल्यै छुट दिनेछैनौँ,’ उनले भने । पोखरेलले जनताका हकहीत, विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक हुनुपर्ने पनि उल्लेख गरे।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्