डोटीमा गठबन्धन नगर्ने भए कहीँ पनि नगरौंः आले

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए अन्य जिल्लामा पनि गर्न नहुने बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका केही नेताहरू डोटीमा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेकोप्रति उनले असन्तुष्टि जनाए । ‘मेरो जिल्लामा नेपाली कांग्रेसले अहिले ठाउँ–ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने खालको कुराहरू गरिराखेको छ । गठबन्धन चाहिएन भने डोटीमा मात्रै होइन, ७७ ओटै जिल्लामै हुनु भएन । यदि गठबन्धन हो भने ७७ ओटै जिल्लामा गठबन्धन हुनुपर्छ,’ उनले भने ।
गत स्थानीय तह निर्वाचनमा आफूहरूले १० ओटा वडामा मात्रै उम्मेदवार उठाएर ५५ ओटा वडा छाडिएको भन्दै यसैको मतको आधारमा कांग्रेसले समाजवादीको मत कम रहेको व्याख्या गरिरहेको आरोप लगाए ।गठबन्धन गर्दा स्थानीय तहको मतको कुरा गर्नु नहुने उनको भनाइ छ । स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनबाट बिद्रोहको प्रयास भइरहेको उल्लेख गर्दै उनले त्यसप्रति आफूहरूको ध्यानाकर्षण भएको बताए । उनले मगर जाति समानुपातिकमा मात्रै बस्ने जाति नभएको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्