पितृ खुसी नभएको भन्दै रामेछापमा वृद्धाको हत्या, १ जना घाइते

रामेछाप— रामेछापको खाँडादेवी गाउँपालिका–३, भिरापानी, सित्खामा माझी समुदायका पितृ खुसी नभएको भन्दै आइतबार एक वृद्धाको कुटपिट गरी हत्या गरिएको छ । अर्की १ वृद्धा गम्भिर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मारिनेमा स्थानीय अन्दाजी ५५ वर्षीया विबी माझी छन् । उनकी आमा ७० वर्षीया सुनमाया माझी घाइते छिन् । घाइतेको उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । मृतक र घाइते आमा छोरी हुन् ।
प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार घटनामा संलग्न भएको आशंकामा ७ महिलासहित २२ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाले पितृले मारेको भन्ने प्रहरीसमक्ष बयान दिएका छन् । सांस्कृतिक नाममा भएको घटनाबारे थप अनुसन्धान गर्न प्रहरी सोमबार घटनास्थल गएको छ ।
यसरी भयो घटना
माझी समुदायको सोह्रश्राद्ध सबैभन्दा ठूलो चाडपर्व हो । उक्त पर्वमा माझी समुदायले पितृलाई घाटमा गएर बोलाउने गर्छन् । बोलाउँदा कसैको आङमा पितृ आउने कुरा उनीहरुको विश्वास छ । पितृ आएपछि परिवारका कुनै सदस्य काम्न थाल्छन् । कोही काम्न थाल्यो भने पितृ उसको आङमा आएको विश्वास हुन्छ । त्यसपछि घर आउँछन् । भोलिपल्ट आदर सत्कारसहित एक दिन पितृ पाल्छन् र पर्सिपल्ट बिहानै घाटमा लगेर विधिपूर्वक पितृ नदीमा बगाउँछन् । नदीमा पितृ बगाएपछि सोह्रश्राद्ध सकिन्छ ।
यस प्रकारको कर्म गरेपछि पितृ खुसी हुने विश्वास छ । कम्पन आउनेहरु त्यसपछि काम्न छोड्छन् । तर यो वर्ष काम्ने प्रक्रिया रोकिएन । शनिबार सोह्रश्राद्ध सकेका माझी समुदायका केही युवा युवतीहरु पितृ बगाउँदा अर्थात् तिथि सकिँदा पनि काम्न नछोडेपछि माझीहरुको निष्कर्ष रह्यो– यो वर्ष पितृ खुसी भएनन् ।
त्यसपछि गाउँकी विबी माझीका कारण पितृ खुसी नभएको अनुमान लगाएर काम्नेसहितका युवा युवतीहरु उनको घरमा पुगे । विबीको घरमा आमाछोरीमात्र थिए । गाउँलेले पहिलेदेखि नै विबीलाई बोक्सीको आरोप लगाउँदै आएका थिए ।
काम्दै पुगेका युवायुवतीले विबीकै कारण पितृ खुसी नभएको भन्दै उनलाई कुटपिट गर्न थाले । अक्षताले हान्दै कुटपिट गरे । त्यही बेलामा एउटा बिरालो आइपुग्यो । माझीहरुले बिरालोलाई पनि काटे । बिरालो काटे पछि पोलियो । उता बिवी पनि मरिन् । बोक्सी बिरालोमा उत्रिएको र बिरालो काटेपछि विबि मरेको निष्कर्ष त्यसबेला उनीहरुले निकाले ।
छोरी मरेपछि आमालाई घरअघिको आँगनमा निकालियो । घर वरीपरी कोही आउन दिइएन । घटनास्थल कब्जामा पारेर ७० वर्षीया सुनमायालाई कुटपिट गर्दै गरेको अवस्थामा उद्धारका लागि आसपासका बासिन्दा पुगे । तर उद्धार गर्न सकेनन् । त्यसपछि प्रहरीलाई खबर गरियो । सुरुमा प्रहरीले पनि सकेन ।
दोस्रो प्रयासमा सादा पोसाकमा हतियारसहित पुगेको प्रहरीले सुनमायालाई उद्धार ग¥यो । घटनास्थलबाटै १८ जना नियन्त्रणमा लियो । सोमबार थप ४ जना नियन्त्रणमा लिई जिल्ला सदरमुकाम पु¥याइयो ।

के भन्छन् पक्राउ परेकाहरु ?

कुटपिटमा संलग्न भएको आशंकामा प्रहरीको हिरासतमा पुगेका युवा युवतीहरु उक्त घटनाका बारेमा आफूलाई थाहा नभएको बताउँछन् । ‘पितृले कुटेर मारेको होला, हामीले हैन,’ थिङले भने । पितृ आएको बेला केही थाहा नहुने र घटनाबारे पनि थाहा नभएको उनीहरुको दाबी छ ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ सांस्कृतिक चाड मान्दा अन्धविश्वासका कारण घटना भएको बताउँछन् । ५÷७ वर्षअघि रामेछापकै लुघुघाटमा यस प्रकारको घटना भएको सुनेको श्रेष्ठले बताए । उनका अनुसार प्रहरीले अनुसन्धान अघि बढाएकोले केही दिनमै सत्य–तथ्य आउने छ । घटनास्थलमा पुगेका श्रेष्ठले पितृ आएका युवायुवतीहरु काम्दै गरेको देखेको बताए । कामेकालाई चामलले हिर्काउने चलन रहेछ । घटनास्थलमा १० पाथीभन्दा बढी चामल छरिएको अध्यक्ष श्रेष्ठको दाबी थियो । -कान्तिपुर

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्