महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा केन्द्रीय कार्यालय रहेको सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । झलारी बजारलाई मध्यनजर गदैँ २०६५ सालमा स्थापना भएको उक्त सहकारीले शनिबार १५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
२५ जना शेयर सदस्यहरुबाट झलारी बजारलाई लक्षीत गरि सुरु भएको सहकारी जिल्लाभरिमा नै विस्तार भएको छ । अहिले सहकारीका शेयर सदस्य १५ हजार सात सय १४ जना पुगेको सहकारीले जनाएको छ । त्यस्तै गत आर्थिक वर्षसम्ममा सहकारीको शेयरपुजी चार करोड १६ लाख पुगेको छ भने बचत ४१ करोड ६६ लाख ८४ हजार रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सहकारीले गत आर्थिक वर्षमा एक करोड ७७ लाख २९ हजार नाफा कमाएको छ । भने सहकारीले ७४ करोड १७ लाख ६९ हजार ऋण लगानी गरेको छ । साधारण सभामा सहकारीका अध्यक्ष शिवराज भट्टले अध्यक्षको प्रतिवेदन पेस गर्दै सहकारीले आर्थिक कारोबारसँगै सामाजिक कार्यमा पनि जोड दिएको बताए । उनका अनुसार सहकारीले झलारीमा आँखा उपचार केन्द्र स्थापना गरि सेवा दिईरहेको छ ।

सहकारीले चार वर्षे रणनीतिक योजना निर्माण गरि सन् २०२५ सम्ममा सहकारीलाई आर्थिक, सामाजिक तथा प्रशासनिक रुपले बलियो र दिगो बनाउने पकिल्पना गरिएको अध्यक्ष भट्टको प्रतिवेदनमा उल्लेख छ । सभामा सहकारी सचिव खगेन्द्र प्रशाद पाण्डेयले आव २०७८\७९ को प्रगति प्रतिवेदन र अगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनका अनुसार बचत संकलन, कर्जा प्रवाहसँगै सहकारीले सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम, सीपमुलक तालिम, निशुल्क आँखा उपचार शिविरलगायका कार्यहरु पनि सञ्चालन गरेको छ ।

त्यस्तै सचिव पाण्डेयले सञ्चालक समिति, उप समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, लेखा परिक्षणको प्रतिवेदन, अगामी आवको बजेट र नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । सभामा सहकारीले पाँच जना गरिब शेयर सदस्यका छोरोछोरीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ भने संस्थाका प्रबन्धक भुवनेश्वरी भट्ट र वरिष्ठ सहायक सुनिता कुवँरलाई उत्कृष्ट कर्मचारी घोषणा गरिएको छ । उनीहरुलाई जनही ५\५ हजार नगद पुरस्कार र प्रमाणपत्र दिईएको छ ।