धनगढीः नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कञ्चनपुरको क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका एनपी साउद सहभागी कार्यक्रममा खैलाबैला भएको छ। शनिबार चुनावी अभियानकै दौरान कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा आयोजित एक सांस्कृतिक कार्यक्रममा नेता साउद सहभागी भएका थिए। तर, त्यहाँ साउद आएकै कारण विवाद भएको बताइएको छ।
चुनावका बेला मात्रै भोट माग्न आउने तर अरु बेला जनतालाई फर्केर नहेर्ने भएकाले नेता साउदलाई कार्यक्रमबाटै लखेटिएको एक स्थानीयले बताए। कार्यक्रममा नेता साउद बोलिरहेकै समयमा विवाद भएपछि विवादले उग्र रुप लिएको थियो। बिचमै विवाद भएपछि कार्यक्रम नै बिथोलिएको थियो।
यता, कृष्णपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष टेक पाण्डेयले भने सामान्य विवाद भएको तर नेता साउद नलखेटिएको दाबी गरेका छन्। बोल्दा खेरी एमालेका कार्यकर्ताले विवाद गरेको र कार्यक्रममा अप्रिय माहोल सृजना गरिएको उनले बताए।
तर, एमालेका कार्यकर्ताहरुले भने वडाध्यक्षले भनेजस्तो नभएको बतएका छन्। एमाले निकट युवा संघ नेपालका केन्द्रीय सदस्य रोहित कुँवरले जनताले लखेटेको कुरालाई एमालेसँग जोड्नु हास्यासपद भएको बताए। एमालेका कार्यकर्ताबाट यस्तो कार्य नभएको र त्यहाँका जनताले नेता साउदलाई लखेटेको उनको भनाइ छ।-दिनेश खबर

