महेन्द्रनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा कञ्चनपुरको ३ नम्बर निर्वाचन क्षेत्रअन्तर्गत पर्ने दोधाराचाँदनी नगरपालिकाको १ नम्बर वडाका ५ जनाले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।
बुधवार आयोजित कार्यक्रमबीच ५ जना एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई एमाले नेता तथा निवर्तमान प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टले पार्टीमा स्वागत गरेका छन् ।
कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नेमा मोहन भट्ट, चक्रदेव भट्ट, मानबहादुर पुजारा, सुरज पुजारा र बिरु बन रहेका छन् ।
चुनावको मिति नजिकिँदै गर्दा ३ नम्बर क्षेत्रमा एमालेले प्रचारप्रसार तीव्र पारेको छ । एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा पार्टी पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज निरुदेवी पाल र प्रदेशसभा सदस्यमा जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट उम्मेदवार रहेका छन् ।