कृष्णपुर नगरपालिकाको ढिलासुस्ती : योजना पुस्तिका नै प्रकाशित भएन, एमालेको खबरदारी

झलारी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आधारभूत काममै ढिलासुस्ती गरेको पाइएको छ ।

आर्थिक वर्षको सुरुमै योजना पुस्तिका प्रकाशित गर्नुपर्नेमा ५ महिना पुगिसक्दा पनि नगरपालिकाले योजना पुस्तिका प्रकाशित गर्न नसकेपछि नेकपा एमाले कृष्णपुर नगर कमिटीले खबरदारी गरेको छ ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझालाई एमाले नगर कमिटीका इन्चार्ज तथा पार्टी जिल्ला सचिवालय सदस्य लोकेन्द्रप्रसाद पन्त र नगर अध्यक्ष गणेशसिंह ऐरीले योजना पुस्तिका छिटो प्रकाशित गर्न माग गरेका छन् ।

नगरपालिकाले असार १० गतेभित्र नगर सभामा आयव्यय वितरण पेश गरेर साउनमा योजना पुस्तिका प्रकाशित गर्नुपर्छ । तर कृष्णपुरमा अझैसम्म पुस्तिका प्रकाशित भएको छैन ।

एमालेले विगतका योजना कार्यान्वयन गर्न, विषयगत समिति गठन गर्न, दरबन्दी मिलाउन गर्न, सहमतिमा शिक्षा समिति गठन गर्न, प्रधानाध्यापक नियुक्तिलाई न्यायोजित बनाउन, विद्यालयको अनुदान रोक्का नगर्न, २४ घण्टे स्वास्थ्य सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन माग गरेको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधामा विशेष ध्यान दिन, जग्गाधनी प्रमाणपत्र वितरणलाई सर्वसुलभ बनाउन, अनावश्यक रूपमा वृद्धि गरिएको कर फिर्ता गर्न, नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न ज्ञापनपत्रमा माग गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्