महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटा सडकमै धर्नामा बसेका छन् । उनी मंगलबारदेखि धर्नामा बसेका हुन् । नगरपालिकाले सडक कालोपत्रेको बजेट कटौती गरेपछि बजेट व्यवस्थापनको मागसहित उनि योजनास्थलमै धर्नामा बसेका छन् ।
अघिल्लो आर्थिक वर्षमा निर्माण सुरु गरिएका सडकको बजेट कटौती गरिएपछि नगरपालिकालाई दबावका दिन धर्नामा बसेका वडा अध्यक्ष देवकोटाले बताए । उनले केही दिन अघि बजेट कटौती गरिएका सडकका नामम सहित नगरपालिकामा पत्र पठाएइका थिए । निर्माणको अन्तिम चरणमा रहेका सडक योजनामा नगरपालिकाले बजेट कटौति गरेको उनको भनाई छ । ‘यी सडकको काम अघिल्लो आर्थिक वर्षमा सुरु गरिएको थियो, बेसमेन्टका काम गरिएका छन्, यस वर्ष बजेट नै कटौती गरियो’ उनले भने,‘त्यो कटौती बजेटका लागि धर्ना बसेको छु, यसलाई नगरपालिकाले गम्भीर रुपमा लिने आश राखेको छु ।’

वडा अध्यक्ष देवकाटाका अनुसार पत्थरपुर, भगतपुर सहित ७ सडकको कालोपत्रे बजेट कटौती गरिएको छ । उनी ती सडकमा विहान १० देखि साँझ ५ बजेसम्म धर्ना बस्न थालेका हुन् । मंगलबार पत्थरपुर सडक क्षेत्रमा धर्ना बसेका वडाध्यक्ष देवकोटा बुधबार भगतगुरस्थित सडकमा धर्ना बसेका थिए । उनले कार्यालयको सेवा पनि धर्ना स्थलबाटै दिईररहेका छन् । उनी सेवाग्राहीलाई आफू धर्ना बसेको कारण जानकारी दिएर असहज भएको क्षमा समेत मागि रहेका छन् ।

‘बजेट कटौती गरिएका सबै सडकमा तुरुन्त बजेट विनियोजन गर्नु पर्ने माग हो, त्यसका लागि बजेट कटौती गरिएका सबै सडकमा विहान १० देखि ५ बजेसम्म धर्ना बस्छु’ उनले भने,कार्यालयका कामकाज यतैबाट गर्छु, कटौती गरिएको बजेट दिनु पर्छ ।’
हिउँदे नगर अधिवेशनबाट कटौति गरिएको बजेट योजनामा हाल्नुपर्ने उनको माग छ । वडाध्यक्ष देवकोटाको धर्ना कार्यक्रममा स्थानीयले समेत समर्थन जनाईरहेका छन् । स्थानीय तह निर्वाचनमा देवकोटा एमालेबाट वडा निर्वाचित भएका हुन् । उनी बाहेक चार सदस्य भने काँग्रेसका छन् । भीमदत्त नगरपालिकामा काँग्रेस नेतृत्वको सरकार भएकाले राजनीतिक प्रतिशोध साँध्न बजेट कटौती गरिएको स्थानीयले आशंका समेत गरेका छन् । भीमदत्त नगरपालिकाले १८ नम्बरमा निर्माणाधिन भगतपुर सहित पत्थरपुर, गोबरैया नाला नेगी टोल, निम्बुखेडा भगतपुर लगायतका सडकमा बजेट कटौती गरिएको छ ।
बजेट कटौती भएका सबै योजनास्थलमा धर्नाको कार्यक्रम रहेको वडाध्यक्ष देवकोटाले बताए । साथै माग सम्बोधन नभए नगरपालिकामै धर्ना बस्ने उनको भनाई छ ।