सुनको भाउ ८ महीनायताकै उच्च, नयाँ रेकर्ड बन्ने संकेत हो ? 

काठमाडौं । गत मंसिर १ गते सुनको मूल्य थियो– तोलाको ९८ हजार रूपैयाँ । त्यसको तीन सातापछि (२३ गते) त्यसको मूल्य बढेर तोलामा १ लाख ३०० रूपैयाँ पुग्यो । त्यसयता दुई साताभन्दा बढी समयदेखि लाखकै आसपास रहेको सुनको मूल्य आज तोलामा १ लाख १ हजार ५०० कायम भएको छ । 
उक्त मूल्य ८ महीनायता (वैशाख ६ गते)यताकै सर्वाधिक हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वैशाख ६ गते सुनको मूल्य तोलाको १ लाख २ हजार १०० रूपैयाँ तोकिएको थियो । 
गत फागुन २५ गते भने सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको मूल्य तोलाको १ लाख ५ हजार ५०० रूपैयाँ पुगेको थियो । 
पछिल्लो दुई साताभन्दा बढी समययता (गत मंसिर २३) सुनको भाउ तोलाको लाख आसपास छ । त्यसयता गत आइतवार (पुस १ गते)बाहेक अरु दिन सुनको भाउ तोलामा लाख रूपैयाँ वा सोभन्दा बढी छ । पुस १ गते भने सुनको भाउ तोलाको ९९ हजार ९०० कायम भएको थियो । 
सुनको मूल्य ८ महीनायताकै उच्च हुनु र दुई साताभन्दा बढी समयदेखि लाख आसपास रहनुले नयाँ रेकर्ड कायम रहला कि भन्ने प्रश्न उठेको छ ।  
अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा पनि भाउ बढेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य अन्तरराष्ट्रिय बजारमा भाउ बढ्दा सुनको मूल्य बढेको बताउँछन् । सुनको मूल्यमा अरु फ्याक्टरले प्रभाव पारे पनि अहिले अन्तरराष्ट्रिय बजारमा भाउका कारण बढेको उनको भनाइ छ । ‘अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा पनि बढेको हो,’ उनले भने । 

यद्यपि मंसिर तेस्रो सातापछि कारोबार भने ह्वात्तै घटेको उनको भनाइ छ । उनका अनुसार मंसिरको पहिलोदेखि तेस्रो सातासम्म दैनिक ५० केजी खपत हुने सुन अहिले १० केजीमा झरेको छ । 
नेपाली बजारमा उकालो ग्राफमा रहेको सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा पनि उकालोमै छ । गोल्डप्राइसडटओआरजीका अनुसार पछिल्लो १ महिनामा सुनको भाउ ३.५८ प्रतिशतले बढिसकेको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य आज (डिसेम्बर १२ मा) प्रतिऔंश १ हजार ८१८ डलर छ । एक महिनाअघि (नोभेम्बर २२)मा यसको मूल्य प्रतिऔंश १ हजार ७४० डलर थियो । 
अब सुनको भाउ अझै बढ्ने प्रक्षेपण गरिएको छ । 

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्